Dhulikhel Eco Banner new

उप निर्वाचनमा धेरै उम्मेदवारले आफैलाई मतदान गर्न नपाउने

7.11K
shares

काठमाडौं, १० वैशाख । आइतबार देशका ३ वटा निर्वाचन क्षेत्रमा उप निर्वाचन भइरहेको छ । विहान ७ बजेदेखि चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान भइरहेको हो ।

तीन क्षेत्रमा ६५ जना उम्मेदवार छन् । उनीहरुमध्ये धेरैले आफूले आफैलाई मतदान गर्न नपाउने भएका हुन् । सम्बन्धित निर्वाचन क्षेत्रमा मतदाता नामावली नभएका कारण ती उम्मेदवारहरुले निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् ।

चितवनको २ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले मतदान गर्न पाउँदैनन् । लामिछानेको मतदाता नामावली काठमाडौंमा र एमालेका न्यौपानेको चितवन क्षेत्र नम्बर ३ मा रहेको छ ।

तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार बनेको दुई जना उम्मेदवारले मात्रै आफूलाई मतदान गर्न पाउने भएका छन् । त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले मात्रै मतदान गर्ने छन् । त्यहाँबाट उम्मेदवार बनेको नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले मतदान गर्न पाउने छैनन् ।

यता बाराको क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार रमेश खरेल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र नेकपा एमालेका पुरुषोत्तम पौडेलले मतदान गर्न पाउने छैनन् । मतदाता नामावली अन्य स्थानमा रहेकाले उनीहरूले मतदान गर्न नपाउने भएका हुन् । यादवको मतदाता नामावली सुनसरीमा रहेको छ । खरेलको मतदाता नामावली काठमाडौंमा रहेको छ । यो क्षेत्रमा जनमत पार्टीबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहले भने मतदान गरेका छन् ।