Dhulikhel Eco Banner new

विश्व हिन्दु महासंघमा विवाद, सम्पत्ति हत्याउन किर्ते कार्य भएको आरोप

7.23K
shares

काठमाडौं, १९ वैशाख । हिन्दु धर्मलाई आफ्नो अभीष्ट पूरा गर्ने माध्यम बनाएर विश्व हिन्दु महासंघमा राजनीति प्रवेश गराउने षडयन्त्र भएको छ । महासभाले विश्व हिन्दु महासंघको कार्यवाहक अध्यक्षमा अस्मिता भण्डारीलाई चयन गरेदेखि नै नियोजित रूपमा संस्थालाई कमजोर र विवादास्पद बनाउने चलखेल भइरहेको हो ।

उच्च अदालतले भण्डारी नेतृत्वको समिति र उसको कामकारबाहीलाई वैद्य ठहर गरेपछि आतिएको त्यो समूहले भ्रामक सूचना तथा अनधिकृत कामकारबाही गर्दै आएको छ । सो समूहले विश्व हिन्दु महासंघको निर्वाचन गरेको भनी दुष्प्रचार समेत गर्दै आएको छ ।

महासंघलाई विभाजित गर्न क्रिश्चियन मिसनरीहरूको डिजाइनमा पछिल्ला गतिविधि भइरहेको बताइन्छ । सो काममा महासंघको निमित्त अध्यक्ष दाबी गर्दै चक्रबन्धु अर्याल सक्रिय बनेका छन् । अर्याल भ्रष्टाचारमा डामिएका व्यक्ति हुन् । पूर्व रक्षा सचिवसमेत रहेका अर्याललाई एक दशकअघि नै विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्यद्वय न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले अर्यालले ६६ लाख २ हजार ५३० रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फैसला सुनाएको थियो । साथै अर्यालले भ्रष्टाचार गरेको रकम बराबर बिगो जरिवाना असुल्न समेत भनिएको छ ।

भ्रष्टाचारमा दोषी ठहर भएका अर्याललाई महासंघले पनि विधानअनुसार कारबाही गरी सदस्यता समाप्तिको घोषणा गरेको थियो । महासंघसँग कुनै अधिकार नै नभएका शास्त्रदत्त पन्त पनि महासंघलाई कमजोर बनाउन लागिरहेको आरोप छ । अहिले पन्तले जनमानसलाई भ्रम पार्ने गरी गतिविधिहरू गर्दै आएका छन् ।

महासंघको छाप र लेटरप्याडको दुरुपयोग गर्दै सो समूहले आफूलाई आधिकारिक भएको दावीसहित महासंघको सम्पत्तिमाथि गिद्देदृष्टि लगाएको कार्यवाहक अध्यक्ष भण्डारीको आरोप छ । सो समूहले बाँसबारीस्थित महासंघको नाममा रहेको २८ रोपनी जग्गा र भौतिक संरचना कब्जा गर्ने गरी किर्ते काम गरेको उनको उनको आरोप छ ।

कार्यवाहक अध्यक्ष भण्डारीको कार्यकारिणी समितिले विधान अनुरूप अधिवेशन गराउने प्रक्रिया अगाडि बढाइरहँदा महासंघको विधान अनुसार अध्यक्षको उम्मेदवार हुन योग्यता नै नपुगेका व्यक्ति किशोरकुमार गौतमलाई अध्यक्ष बनाउने भनी एकतर्फी रुपमा चक्रबन्धु अर्याल, शास्त्रदत्त पन्तलगायतले चलखेल जारी राखेको बताइएको छ ।

अन्तर्राष्ट्रियका च्याप्टरहरूसँग पत्राचार गरी उपयुक्त समयमा कार्यकारिणी समितिले विश्व हिन्दु महासंघको महासभाको बैठक बोलाउनु पर्ने र सोही महासभामा महाधिवेशन हुने विधानमा उल्लेख छ ।

के थियो उच्च अदालतको फैसला ?

 

विश्व हिन्दु महासंघको अध्यक्षको दाबी गर्दै आफूलाई गरिएको कारबाही गैरकानूनी घोषित गर्न प्रमोद कुमार चौरडिया उच्च अदालत पाटन गएका थिए । तर उच्च अदालतले अस्मिता भण्डारी कार्यवाहक अध्यक्ष ठहर गरी रिट खारेज गरेको थियो । २०७९ कात्तिक २३ गते न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले गरेको फैसलामा गरेको थियो । ‘निवेदक मिति २०७३/०६/२२ मा विश्व हिन्दू महासंघको कार्यकारिणी समितिको उपाध्यक्षमा मनोनयन भएको र विश्व हिन्दू महासंघको विधानले पदाधिकारीहरूको पदावधि ५ वर्षको हुने व्यवस्था गरेको हुँदा हाल कार्यकारिणी समितिका सबै पदाधिकारीहरूको कार्यावधि समाप्त भई मिति २०७८/०८/२६, २७ र २८ गते महासम्मेलन समेत सम्पन्न भई सकेको र नयाँ कार्यकारिणी समितिको चयन हुन भने नसकेको अवस्था देखियो । उक्त महासम्मेलनबाट नयाँ कार्यकारिणी समितिको निर्वाचन नभएसम्मका लागि विश्व हिन्दू महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी अस्मिता (टीकादेवी) भण्डारीलाई सुम्पिसकेको हालको अवस्थामा कार्यविधि नै समाप्त भई सकेको तत्कालीन कार्यकारिणी समितिको उपाध्यक्षको हैसियतले रिट निवेदकलाई निमित्त अध्यक्षको पदमा रही काम गर्न दिने गरी रिट जारी गरी पाउँ भन्ने मागदाबीको समेत अब कुनै औचित्य रहेको देखिएन,’ फैसलामा भनिएको छ ।

महासंघको कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले महासंघ र हिन्दुत्वमाथिको पछिल्ला गतिविधिहरूलाई आफूहरूले गहिरो ढंगले नियालिरहेको भन्दै यस्ता कार्यहरु रोक्नका लागि आग्रह गरेकी छिन् । ‘कानून र विधिसम्मत तवरले बाँसबारी प्रधान कार्यालय रहेको महासंघ आधिकारिक एवं वैधानिक रहेको उल्लेख गर्दै सबै सदस्य तथा हिन्दु धर्मावलम्बीहरूमा भ्रममा नपर्ने अपिल गर्दछु,’ उनले भनिन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र मान्यताका आधारमा पनि आफ्नो नेतृत्व अनुमोदित भइसकेको उनको भनाइ छ । महासम्मेलनमा भारतलगायतका देशहरूबाट प्रतिनिधित्व भएको उनले बताइन् । महासंघको लेटरप्याड र छाप अनधिकृत रूपमा बनाएर दुरुपयोग गरेकोमा समेत कार्यवाहक अध्यक्ष भण्डारीले आपत्ति जनाएकी छन् । उनले किर्ते काम गरेर प्रशासनसमेतलाई गुमराहमा राख्नेहरूलाई कानूनको कठघरामा उभ्याउने चेतावनी दिएकी छन् । महासंघको गरिमा र गौरव घटाउने निन्दनीय काम गरेको भन्दै त्यस्ता व्यक्तिहरूलाई कारबाहीको मागसमेत उनले गरेको छन् ।