Dhulikhel Eco Banner new

प्रविधिमा निजी क्षेत्र अघि बढिसक्यो, सरकारले सहजिकरण गर्नु पर्छ : अध्यक्ष ढकाल

4.85K
shares

काठमाडौं, १९ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारको साझेदारीका आवश्यक रहेको बताएका छन् । मगंलबार ‘राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२३’ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रलाई डिजिटलाइज गर्न निजी क्षेत्र अगाडी बढिसकेकाले थप सहजीकरण गर्न सरकारसंग आग्रह गरेका हुन् ।

डिजिटल नेपाल बनाउनको लागि निजी क्षेत्र र सरकारको उल्लेखनीय लगानीको आवश्यकता उनको भनाइ थियो । सूचना प्रविधिको लागि आवश्यक मानवीय संसाधन र प्राविधिक शिक्षा, इन्टरनेटको सहजता र सुलभता हुनु जरुरी रहेको उनले बताए । ‘सूचना प्रविधिको प्रयोगले नेपाली उत्पादन र सेवाको निर्यातलाई बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भएकोले यसमा सरकार र निजी क्षेत्रबिच थप साझेदारी आवश्यक रहेको छ,’ अध्यक्ष ढकालले भने ।

नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी छुट्टै सूचना तथा संचार प्रविधि विकास समिति गठन गरेको पनि अध्यक्ष ढकालले बताए । सूचना प्रविधि क्षेत्रमा लागेका निजी क्षेत्रका व्यवसायीहरुले निरन्तर पोलका समस्या, विद्युतीय शुल्क, अनलाइन पेमेन्ट लगायतका समस्या भोग्नु परेकाले प्राथमिकताका साथ समाधान गर्न पनि अध्यक्ष ढकालले सरकारसंग आग्रह गरे ।

सूचना प्रविधिको उपयोगबाट बढि भन्दा बढि फाइदा लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्ट अप पोलिसी तत्काल पारित गर्न, डिजिटल सिग्नेचरलाइ मान्यता दिइ प्रयोगमा ल्याउन, कर, व्याजदर लगायतमा सुबिधा दिएर सूचना प्रविधि हवको बिकासमा सघाउन पनि अध्यक्ष ढकालले माग गरे । प्रविधिबाट कोही वञ्चित नहोस् भन्ने मान्यतामा दृढ रहँदै डिजिटल डिभाइड कम गर्न सूचना तथा संचार प्रविधिलाई थप सहज र सर्वसुलभ बनाउने प्रयासमा सबै क्षेत्रले योगदान गर्नु पर्ने उनको भनाइ थियो ।