Dhulikhel Eco Banner new

एसइईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा, हनुमान ढोका परिसरमा सवारी निषेधदेखि अर्थतन्त्रमा सुधार देखिएको अर्थमन्त्रीको भनाइसम्म 

4.63K
shares

काठमाडौं, २० असार ।  पछिल्लो समय लगातार रूपमा ओरालो लागेको शेयर बजारमा आज केही सुधार भएको छ । आज शेयर बजारमा १२ अंकको सुधार आएको छ । आज १२ दशमलव ७३ अंकले सुधार आएर शेयर बजार परिसूचक २०८८ दशमलव ७० विन्दुमा पुगेको छ ।

मंगलबार २८२ कम्पनीका ६४ लाख ५० हजार ९३४ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज २ दशमलव २८ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३८८ दशमलव ६२ विन्दुमा पुगेको छ ।

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा वृद्धि भएको छ । छापावाल सुनमा ४ सय रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ ।

महासंघका अनुसार आज ४ सयले बढेको छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हनुमान ढोका परिसरमा सवारीसाधन निषेध’ मौलिक सम्पदा जोगाउन सबैमा काठमाडौँ महानगरको अनुरोध
काठमाडौँ महानगरपालिकाले हनुमान ढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो । महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए ।

उनले ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन”, भनेका छन् । वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत भविष्यमा लाखौँ पर्यटक आउन सक्ने सम्भावना रहेको उल्लेख गरेका छन् । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमान ढोका परिसरभित्र सवारीसाधन निषेध गरिएको बताए ।

एसइईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा, शुक्रवारसम्म नतिजा सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ । पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डले यो वर्षको एसइई नतिजा प्रकाशनमा ९ग्रेडिङ० विधि लागू गर्नेछ ।

यो विधिमा ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन्छ ।चालु शैक्षिक सत्रमा सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसार पढाइ भएकाले अबदेखि भने नयाँ ग्रेडिङ प्रणाली लागू हुने बोर्डका अध्यक्ष शर्माले बताए । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसइईको नतिजा शुक्रवारसम्म सार्वजनिक गर्ने तयारी छ । परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको अर्थमन्त्री डा.महतको भनाई
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको उल्लेख गरेका छन् ।

राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै उनले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको दाबी गरे । देश आर्थिक हिसाबले समस्यामुक्त नभएको भन्दै उनले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त नहुने जिकिर गरे।

‘अर्थतन्त्रमा बहस चलिरहन्छ, समस्या आइरहन्छ, समाधानको बाटो पनि पहिल्याउँदै जाने उनले भनेका छन् । त्यसै गरी उनले अर्थतन्त्रको  समस्या निराकरण गर्न नसके पनि आगामी आर्थिक वर्ष देखि अर्थतन्त्रमा सकारात्मक सुधार देखिने बताएका छन् ।