Dhulikhel Eco Banner new

एलओडीका म्यानेजर सहित दुई कर्मचारी पक्राउदेखि हवाई उडानको भाडा बढ्नेसम्म

4.33K
shares

काठमाडौं, १ साउन । साताको कारोबारको दोस्रो दिन आज शेयर बजारमा ४७ अंकको सुधार आएको छ । आज ४७ दशमलव ०७ अंकले सुधार आएर शेयर बजार परिसूचक २१४४ दशमलव १६ विन्दुमा पुगेको छ ।

सोमबार २५७ कम्पनीका ७६ लाख ३४ हजार १९० कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ९ दशमलव ९५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४०४ दशमलव १० विन्दुमा पुगेको छ ।

सुनचाँदीको मूल्य स्थिर

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार १ लाख १२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य आज पनि स्थिर नै रहेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम थियो । आज सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको मूल्य समेत स्थिर कायम छ । आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

एलओडीका म्यानेजर सहित दुई कर्मचारी नियन्त्रणमा

बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ । नाबालिगलाई क्लबमा छिराएको भन्दै प्रहरीले एलओडीका साहुलाई नियन्त्रणमा लिएको थियो ।

दश वर्ष कोरियामा दुःख गरेको पैसा सहकारीमा डुबेको सहकारी पीडितको गुनासो

काठमाडौंको बसुन्धारामा केन्द्रिय कार्यलय रहेको उत्तम बचत तथा ऋण सहकारीबाट ठगिएका एक युवकले आफुले कोरियामा १० वर्ष दुःख गरेर कमाएको ७० लाख डुबेको गुनासो गरेका छन् । विगत ४० दिनदेखि माइतीघर मण्डलामा आन्दोलनमा रहेका उनी भविष्य सुनिश्चित गर्न सहकारीमा पैसा राखेको बताउँछन् ।

उनले सहकारी विभागले सहकारीलाई दर्ता नंम्बर दिएर ठग्न पठाएको भन्दै आक्रोश पोखेका छन् । सहकारीले १७ प्रतिशत ब्याज दिने गरेको उनको भनाइ छ । उनले एउटै परिवारको कोहि व्यवस्थापक कोहि अध्यक्ष बनेकोप्रति पनि आपत्ति जनाएका छन् ।

उनले सहकारीले पैसा फिर्ता गर्न नसक्ने अवस्था सिर्जना आएपछि आफुले लगानी गरेको जग्गा किन्न आग्रह समेत गरेको बताए ।

आजदेखि हवाईमा भ्याट लागु, आन्तरिक उडानको हवाई भाडा बढ्ने

आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

एयरलाइन्सले मूल्य अभिवृद्धि कर उठाएसँगै आन्तरिक उडानको हवाई भाडा केही वृद्धि हुने एयरलाइन्सले जनाएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्नेछ ।