Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकको नाफा बढ्यो, चुक्ता पूँजी १४ अर्ब ८ करोड

5.17K
shares

काठमाडौं, १९ साउन । सिद्धार्थ बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो। आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १४.५७ प्रतिशत र सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ५ रुपैयाँ ६५ पैसा रहेको छ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढेको छ।