Dhulikhel Eco Banner new

सुन तस्करीमा संलग्न राहुललाई पाँच दिन हिरासतमा राख्न अनुमति

6.86K
shares

काठमाडौं, १३ भदौ । जिल्ला अदालत काठमाडौँले पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका छन् । चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाएका छन् । राहुलले बुधबार सिआईबीमा आत्मसमर्पण गरेका थिए ।