टुटलका संस्थापक रिहा गर्न जिल्ला अदालतको आदेश
वि.सं.२०८० पुस २२ आइतवार १७:५२
shares

काठमाडौं, २२ पुस । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘यसमा यिनै जाहेरवालाले यी प्रतिवादी विरुद्ध उच्च अदालतमा प्रस्तुत मुद्दासँग सम्बन्धित विषयमा दिएको निषेधाज्ञा ०८०–१–००३९ नम्बरको मुद्दा दायर गरी मिति २०८०।०६।२१ मा अन्तरिम आदेशको निरन्तरता नहुने गरी आदेश भैसकेको अवस्था देखिँदा सोही विषयमा यी प्रतिवादीलाई थुनामानै राखी मुद्दा अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिंदा प्रतिवादीलाई हाजिरी जमानीमा राखी मुद्दा अनुसन्धान गर्नु भनी प्रस्तुत आदेश गरिदिएको छ।’
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको थियो।
नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टराई नियन्त्रणमा लिइएको थियो भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको थियो। सुरूमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध मुद्दा हालेका थिए ।
प्रहरीका अनुसार टुटल एपका शेयरहोल्डरहरूको अनुमति बिना भट्टले आर्थिक लाभ लिएर ‘टुटल’ लाई नै ‘टुटल बाइ ज्याप’ भनेर प्रचार गरेको र पछि गैरकानुनी रूपमा संचालन गरेको आरोप छ।



















