उद्घाटन अघि भासिएको धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण पुनः सुरु
वि.सं.२०८० माघ १३ शनिवार १२:१९
shares

जनकपुरधाम, १३ । धनुषा र सिरहा जोड्ने कमला पुलको पुनः निर्माण पुन सञ्चालन भएको छ । हुलाकी सडक अन्तर्गत पर्ने धनुषा र सिराहा जोड्ने कमलाको पुल माघ २ गते देखि पुनः निर्माण कार्य सञ्चालन भएको हो । शुक्रबारदेखि कामको गति बढेको निर्माण कम्पनीले जनाएको छ ।
असार अगावै पुल सञ्चालन गर्ने गरी हुलाकी राजमार्ग निर्देशनालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ बिच सहमति भएको छ ।
भाँसिएको कमला पुलको पुनर्निर्माणको काम तीव्रताका साथ भइरहेको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए । पुल पुनर्निर्माणमा कार्ययोजना अनुसार तोकिएकै समयमा पुलको निर्माणकार्य सम्पन्न हुने उनले जानकारी दिए ।
कमला पुल निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाका अनुसार वर्षा सुरु भएसँगै रोकिएको पुल पुनर्निर्माणको काम गत मङ्सिरबाटै सुरु भए पनि आर्थिक सङ्कटका कारण सुस्त रहेको थियो । “भासिएको ठाउँमा दुई पायल राख्नेगरी फाउन्डेसन र पाइलिङको काम भइरहेको छ, बीमाबाट प्राप्त गर्नुपर्ने रकम रोकिएकाले आर्थिक सङ्कट हुन गएकाले निर्माणकार्य ढिलो हुन गयो”, थापाले भने, “अब यो कार्ययोजना सम्झौताले पुल पुनः निर्माणमा तीव्रता दिने विश्वास लिएको छु ।”
२०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरेर निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो । पटक–पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो ।



















