इलामको पाथीभरामा ८ महिनामा करोड बढी भेटी संकलन
वि.सं.२०८० चैत ६ मंगलवार १४:३४
shares

इलाम, ६ चैत । इलामको रोङ गाउँपालिका– ३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा रु एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी संकलन भएको छ ।
चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी संकलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु ९९ लाख ६४ हजार ५६ नगद र चार लाख ९५ हजार एक सय आठ बराबरको जिन्सी संकलन भएको समितिका अध्यक्ष राईले जानकारी दिए ।
जिन्सीअन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातु संकलन हुने गरेको छ । समितिका अनुसार साउनमा रु चार लाख ४२ हजार पाँच सय ८८ नगद र २१ हजार बराबरको जिन्सी, भदौमा रु सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा रु पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौ सय बराबरको जिन्सी तथा कात्तिकमा रु २१ लाख १० हजार चार सय ७५ नगद र ५९ हजार नौ सय बराबरको जिन्सी संकलन भएको छ ।
त्यसैगरी, मङ्सिरमा रु १८ लाख ३२ हजार पाँच सय ५७ नगद र ६८ हजार आठ सय बराबरको जिन्सी, पुसमा रु १५ लाख ४२ हजार ९७ नगद र ४० हजार नौ सय बराबरको जिन्सी, माघमा रु १२ लाख ५४ हजार पाँच सय ३५ नगद र २८ हजार दुईसय बराबरको जिन्सी तथा फागुनमा रु १४ लाख ५५ हजार दुई सय ४३ नगद र एक लाख २१ हजार नौ सय आठ बराबरको जिन्सी संकलन भएको छ ।
पाथीभरा मन्दिरमा संकलन भएको रकम त्यही ठाउँको विकासमा खर्च भइरहेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । ‘भक्तजनको सहयोग सही ढंगले सदुपयोग हुनुपर्छ भन्नेमा पालिका सधैं दृढ छ,’ अध्यक्ष स्याङ्बोले भने, ‘हामी सधैं पारदर्शिता र सुशासनको पक्षमा छौं, मन्दिरबाट संकलन भएको रकम मन्दिरकै विकासमा खर्च गर्छौं ।’
पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ । गाउँपालिकाले ऐन बनाएर मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याइएको थियो ।
गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो ।
गत वर्ष फागुनदेखि असारसम्म रु ९२ लाख ९५ हजार तीन सय ६२ भेटी संकलन भएको थियो । सो अवधिमा रु ८५ लाख ३१ हजार दुई नगद र सात लाख ६४ हजार तीन सय ६० बराबरको जिन्सी संकलन भएको थियो ।



















