GBIME

टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल

336
shares

टीकापुर कैलाली, ५ वैशाख कैलालीको टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल भएको छ । ‘पोषणमैत्री स्थानीय शासन पालिका’ घोषणाका लागि भइरहेका योजना तथा कार्यान्वयनको अवस्थाबारे छलफल भएको हो ।

नगरपालिकाले वडा नं ३ लाई पहिलो चरणमा पोषणमैत्री स्थानीय वडा घोषणाका लागि गत वर्षदेखि काम गरिरहेको छ । ‘बहुक्षेत्रीय पोषण योजना तथा पोषण कार्यक्रम’अन्तर्गत टीकापुरमा भएका कार्य र पोषणमैत्री स्थानीय शासनको कार्यविधिको मस्यौदामाथि प्रारम्भिक छलफल भएको युनिसेफका पोषण अधिकृत प्रकाशचन्द्र जोशीले बताए।

कार्यक्रमको सहजीकरण जोशीले गरेको छ भने कार्यविधिको मस्यौदा परामर्शदाता शेतबहादुर भुलले प्रस्तुत गरेका थिए । पोषणमैत्री स्थानीय वडा तथा पालिका बनाउन शासकीय पद्धतिमा पोषणका विषयलाई छलफल गर्नु, पोषण सेवा प्राप्तिको सुनिश्चितता र सुधारका लागि बहुक्षेत्रीय प्रयास गर्न आवश्यक रहेको जोशीले बताए। यसका लागि विभिन्न चुनौती रहेका भन्दै उनले टीकापुरले चुनौतीलाई चिरेर काम गर्ने प्रयास गरिरहेको बताए ।

टीकापुरमा बहुक्षेत्रीय पोषणका आशिंक कार्यक्रम सञ्चालन छन् । कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नं ३ मा विविध कार्यक्रम भइरहेका जोशीले जानकारी दिए ।

“पोषणमैत्री स्थानीय शासन लागू भएको घोषणा गर्न ७६ वटा सूचक पूरा गर्नुपर्ने हुन्छ । यसका लागि पालिका, पालिकामा रहेका ७ वटै विषयगत शाखा, सङ्घ संस्था तथा सबै सरोकारवालाको सक्रियता उत्तिकै आवश्यक पर्ने भएकाले सबैलाई जिम्मेवार बनाउन थालेका छौँ”, स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भने ।

उनका अनुसार पहिलो चरणमा छनोट भएको वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । “घोषणाका लागि पालिकाले बजेटको सुनिश्चितता गर्ने, हरेक कार्यलाई पोषणका नजरले हेरेर काम गर्न आवश्यक छ”, रावलले भने ।

प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले पोषणमैत्री स्थानीय शासन लागू गर्न पालिकाको स्रोतको सुनिश्चितता गर्नुपर्ने, सबै नागरिकको घरमा पोषणको उपलब्धता हुनुपर्ने र नागरिकको आम्दानीसमेत बढ्नुपर्ने बताए ।

“कृषि पशुपालन, करेसाबारीलगायत क्षेत्रमा लगानी बढ्नुप¥यो”, उनले भने, “यसका लागि स्थानीय स्रो परिचालन गर्न सकिन्छ । हामीले आइरन पाइने खानेकुरा सागपात, हरिया तरकारी, फलफुललगायत खान जानेका छैनौँ । बारी ती बाली लगाउन प्रेरित गर्नुपर्छ ।”

कार्यवाहक नगर प्रमुख दीपक निसानीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका पोषण फोकल पर्सन तथा सिनियर अहेब अधिकृत कमलबहादुर रावलले पालिकाका ५ स्थानमा ओटिसी सेन्टर सञ्चालनमा रहेका, कुपोषित बालबालिका घट्दै गएका, सङ्घसंस्थालेसमेत पोषण सुधारमा सघाइरहेका बताए ।

“विगतमा छ प्रतिशत बालबालिकामा कुपोषणको समस्या थियो, त्यसमा सुधार आएको छ”, उनले भने, “हामीले गाउँगाउँमा जाउलो, लिटो बनाउन सिकायौँ, आमालाई सचेत बनायौँ, उपप्रमुख पोषण कोसेली, आइरन चक्की वितरणलगायत धेरै कार्यक्रमलाई निरन्तर दिँदा केही सुधार आएको छ ।”

साथै नगरपालिकाले पोषणसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम, हरेक स्वास्थ्यसंस्थामा पोषण कर्नर राखेको छ । पालिकाले वडा तथा पालिकामासमेत पोषण कर्नर राख्ने तयारी गरेको गरिरहेको जनाइएको छ ।