Dhulikhel Eco Banner new

झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही

3.17K
shares

काठमाडौं, १२ असार । झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ। चालु आर्थिक वर्ष २०८०र८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो।

जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा तीन करोड ४७ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ।

मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक बस र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरिएको हो।

चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार नौ सय ५७ कार÷जिपका चालकलाई कारबाही गरिएको छ।

यसैगरी १४ हजार सात सय ४१ मोटरसाइकल चालक, नौ हजार सात सय ७४ ट्रक चालक, एक हजार पाँच सय ३३ टिपर चालक, दुई हजार ६ सय २२ बस चालक तथा दुई हजार ६ सय १३ ट्रयाक्टर चालक कारबाहीमा परेका प्रहरी नायब निरीक्षक गौतमले बताए।

यसैगरी चालु आवको ११ महिनामा सडक दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा ६६ पुरुष, आठ महिला र पाँच बालबालिका छन्।

सो अवधिमा चार सय ९० सवारीसाधन दुर्घटना हुँदा एक सय ५३ जना सख्त घाइते तथा ६ सय ३२ जना सामान्य घाइते भएका प्रहरी नायब निरीक्षक गौतमले बताए।

सबैभन्दा बढी चार सय ५१ मोटरसाइकल दुर्घटना भएका थिए। यसैगरी ३४ ट्रक, ३३ बस, ७४ जिपरकार, २५ ट्रयाक्टर र ५० टेम्पो दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।