पुँजी बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा विकास गर्नुपर्छ : अर्थमन्त्री
वि.सं.२०७९ जेठ २५ बुधवार १३:१३
shares

काठमाडौं, २५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारलाई अर्थतन्त्रको ऐनाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधवार नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिंदै उनले धितोपत्र बजारका लगानीकर्ताहरूको हित संरक्षण गर्न नियामक निकायको संस्थागत क्षमता अभिवृद्धि गरिने बताएका छन् ।
नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको २९ औं वर्ष पुरा गरी ३०औं वर्ष प्रवेश गरेको अवसरमा बोर्ड पदाधिकारी, धितोपत्र बजार तथा व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्तालगायत सम्बद्ध सम्पूर्ण पक्षलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।
यस बजारमार्फत पूँजी परिचालनका लागि पर्यटन, पूर्वाधार लगायतका विविध क्षेत्रका कम्पनीहरू प्रवेश गरेको हुँदा धितोपत्र बजारमा क्षेत्रगत विविधता हुन शुरु भएको छ। जसबाट उत्पादनशील क्षेत्रमा दीर्घकालीन पूँजी परिचालनमा उल्लेन्छ्य वृद्धि भएको छ भने धितोपत्रको दोस्रो बजारमा स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएसँगै सहज र सरला रूपमा बजारमा बितोपत्र कारोबार गर्न सक्ने अवस्था हुँदा लगानीकर्ताको आकर्षण बढेको छ।
धितोपत्र बजार थप गतिशील, विश्वसनीय एवं प्रभावकारी बनाउनुपर्ने परिप्रेक्ष्यमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारको सुदृढ एवं विश्वसनीय व्यवस्था गरी देशभित्र छरिएर रहेको बचत तथा बैदेशिक पूँजीसमेतको उत्पादनशील क्षेत्रमा परिचालन गर्नका लागि अनुकूल वातावरण तयारीमा बोर्डको भूमिका सशक्त एवं प्रभावकारी हुने विश्वास लिएको बताएका छन्।



















