Dhulikhel Eco Banner new

महाशिवरात्रि पर्व देशभर धूमधामले मनाइँदै

3.41K
shares

काठमाडौं, १४ फागुन । महाशिवरात्रि पर्व बुधबार भगवान शिवजीको उपासना गरी मनाइँदैछ। पवित्र पशुपति  क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा बुधबार विहानैदेखी भक्तजनको भीड लागेको छ।

महाशिवरात्री आराध्यदेव भगवान महादेव अर्थात् शिवजीको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु बुधबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा घुइँचो छ । पशुपति क्षेत्र विकास कोषले २ सेकेण्डमा १० जनाले पशुपतिनाथ मन्दिरको दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको दाबी गरेको छ ।

आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र लगायत पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दैछ । पशुपतिनाथ दर्शन र सेना दिवसका कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।