Dhulikhel Eco Banner new

लक्ष्मी ग्रुप एसएमएल इसुजुको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता नियुक्त

3.25K
shares

काठमाडौं, ८ वैशाख । जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित विश्वसनीय सवारी साधन निर्माता एसएमएल इसुजुले नेपालका लागि लक्ष्मी ग्रुपलाई एकमात्र आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ।

लामो समयदेखि नेपाली बजारमा लोकप्रिय मानिएका एसएमएल इसुजुका बस तथा ट्रकहरू नेपाली भू–बनोट र सवारी आवश्यकतालाई ध्यानमा राखी निर्माण गरिएका छन्।

नयाँ नियुक्तिसँगै लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्शियल भेहिकल्सले आक्रामक बजार विस्तारको योजना अघि सारेको छ। कम्पनीका सेल्स हेड सञ्जय खड्काका अनुसार, देशभर सेवा तथा बिक्री सञ्जाल अझ सशक्त बनाउने रणनीति अनुरूप काम अघि बढाइएको छ।

“हामी विगत सात वर्षदेखि एस एम एल इसुजु ब्रान्डसँग आबद्ध रही देशभर सेवा दिँदै आएका छौं। हाल हामी सातै प्रदेशमा सञ्जाल विस्तार गरिसकेका छौं र आगामी दिनमा यसलाई अझ व्यापक बनाउँदै लैजानेछौं,” खड्काले बताए।

खड्काका अनुसार, कम्पनीले ग्राहकको सहजता सुनिश्चित गर्न देशभर स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिरहेको छ। उनले थपे, “हाम्रो समर्पण, प्रतिबद्धता र मेहनतलाई मूल्याङ्कन गर्दै एस एम एल इसुजुले हामीलाई एकमात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो। यो अवसरप्रति हामी गर्वित र उत्साहित छौं।”

एस एम एल इसुजु स्कुल बस सेग्मेन्टमा अग्रणी ब्रान्डका रूपमा स्थापित रहँदै आएको छ। कम्पनीले विभिन्न क्षमता र मोडेलका बस तथा ट्रकहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ, जसले सार्वजनिक तथा निजी दुवै क्षेत्रमा उच्च माग हासिल गर्न सफल भएका छन्।