Dhulikhel Eco Banner new

राष्ट्र बैंकद्वारा ३ विकास बैंक र २ फाइनान्स कम्पनीमाथि कडा कारबाही

3.55K
shares

काठमाडौं, ११ वैशाख । नेपाल राष्ट्र बैंकले नियामकीय उल्लंघन तथा वित्तीय कमजोरीका आधारमा ३ वटा विकास बैंक र २ वित्त कम्पनीहरूलाई कारबाही गरेको छ। कारबाहीमा पर्ने संस्थाहरूमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्स रहेका छन्।

राष्ट्र बैंकको स्थलगत निरीक्षणका क्रममा मुक्तिनाथ विकास बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष भरतराज ढकाल भवन निर्माण समितिमा संयोजकको रूपमा संलग्न रहेको पाइएपछि बैंकले सो कार्यलाई निर्देशिका विपरीत मानेर सचेत गराएको हो। बैंकको एकीकृत निर्देशन अनुसार सञ्चालक समितिका अध्यक्षले अन्य कुनै आन्तरिक समितिमा संलग्न हुन नपाउने व्यवस्था छ।

नारायणी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकबाट तोकिएको न्यूनतम चुक्ता पूँजी कायम नगरेको, तोकिएको सीमा भन्दा बढी निक्षेप संकलन गरेको, एकल ग्राहक कर्जा सीमा नाघेर कर्जा प्रवाह गरेको तथा पूँजीकोष अनुपात पनि कायम गर्न नसकेको पाइएपछि, बैंकको सञ्चालक समितिलाई २०८२ असार मसान्तभित्र सुधार गर्न लिखित आदेश दिइएको छ।

सालपा विकास बैंकलाई पनि तोकिएको चुक्ता पूँजी कायम नगरेको तथा पूर्व निर्देशनको कार्यान्वयन नगरेको भन्दै राष्ट्र बैंकले कडा चेतावनी दिएको छ।

पोखरा फाइनान्सले नियामकीय मौज्दात रकम कायम नगरेको भन्दै ४६,७१८.२३ जरिवाना तिरेको छ। साथै, संस्थाको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई चित्तबुझ्दो स्पष्टिकरण दिन नसकेको भन्दै ५ लाख जरिवाना गरिएको छ। निष्क्रिय कर्जा अत्यधिक रहेकाले तथा पूँजीकोष अनुपात न्यून रहेका कारण बैंकलाई शीघ्र सुधार गर्न निर्देशन दिइएको छ।

जानकी फाइनान्सलाई पनि पुँजीकोष अनुपात नियामकीय मापदण्डअनुसार नरहेको पाइएपछि शीघ्र सुधारात्मक कारबाही गरिएको छ।