Dhulikhel Eco Banner new

शिक्षक आन्दोलन र समाधान खोजीमा जुट्यो निजी तथा सामुदायिक विद्यालयको साझा प्रयास

5.68K
shares

काठमाडौं, १३ वैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीको पहल तथा प्रयासमा बिहीवार प्याब्सनको केन्द्रीय कार्यालयमा एक विशेष छलफल सम्पन्न भएको छ । उक्त छलफलमा एन प्याब्सनका पदाधिकारी, नेपाल शिक्षक महासंघका अध्यक्षसहित पदाधिकारीहरु, र सामुदायिक विद्यालयमा आवद्ध विभिन्न घटक समूहका नेताहरु सहभागी थिए।

लगभग एक महिनादेखि जारी सामुदायिक विद्यालयका शिक्षकहरुको शिक्षा ऐनको लागि गरिएको आन्दोलनबाट उत्पन्न समस्याहरू र शिक्षकहरूको पेशागत स्थायित्वको सवालमा गहन छलफल गरिएको थियो। शिक्षकहरुको पेशागत सुरक्षासँग जोडिएका माग र मुद्दाहरू सरकारले यथाशक्य चाँडो समाधान गर्नुपर्नेमा सबैको एकमत रहेको थियो।

छलफलमा सरकारले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको जायज माग र मुद्दा चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्ने र विद्यालय फर्काउनुपर्ने विषयमा एकमत रहेको थियो। शिक्षक आन्दोलनको दीर्घकालीन असर शिक्षा प्रणालीमा गहिरो असर पार्ने भएकाले तत्काल संवाद र समाधान खोजी अपरिहार्य रहेको निष्कर्ष निकालिएका थिए।

अध्यक्ष अधिकारी स्वयं शिक्षाको समग्रतामा गहिरो चिन्तन गर्ने व्यक्तित्वका रुपमा चिनिन्छन्। उनका अनुसार, “नेपालको विद्यालय शिक्षामा गुणात्मक सुधार ल्याउन अब साझा सोच र साझा पहलको विकल्प छैन।” प्याब्सनले सरकारसँग पहल गरी आन्दोलनको दीर्घकालीन समाधानका उपायहरुमा लागि पर्ने पनि बताए।

शिक्षक आन्दोलनले विद्यालय शिक्षा प्रणालीमाथि गम्भीर प्रभाव पारेको छ भने विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ। यस्ता संकटपूर्ण अवस्थामा प्याब्सनले सामुदायिक तथा निजी क्षेत्रको सहकार्यमा मात्र नेपालको शैक्षिक रूपान्तरण सम्भव रहेको निष्कर्ष सहित शिक्षक आन्दोलनमा ऐक्यबद्धता पनि जनाएको छ।

छलफलमा आन्दोलनको वैधता, समाधानका सम्भाव्य उपायहरू, र शिक्षा नीति तथा संरचनामा आवश्यक सुधारबारे व्यापक विचार आदानप्रदान गरिएको थियो। शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबै पक्षको समन्वय अपरिहार्य भएको सन्देश पनि छलफलबाट प्रस्तुत गरिएको छ।