प्याब्सन काठमाडौं महानगरद्वारा सामाजिक सुरक्षा कोषबारे अभिमुखीकरण, निजी विद्यालयहरूलाई अनिवार्य आबद्धतामा जोड
वि.सं.२०८२ वैशाख २० शनिवार ११:५७
shares

काठमाडौं, २० वैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) काठमाडौं महानगर समितिको आयोजनामा सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम क्याम्ब्रिज पब्लिक हाइ स्कूल, काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा काठमाडौं महानगरभित्र रहेका निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो ।
सामाजिक सुरक्षा कोषका निर्देशक उत्तम नेपाल योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको महत्त्व र अनिवार्यता प्रस्तुत गर्दै भने, “यो योजना राज्यको प्राथमिक दायित्व हो भने नागरिकको नैसर्गिक अधिकार पनि हो। औपचारिक क्षेत्रमा आबद्ध सबै रोजगारदाता र श्रमिकलाई यस योजनामा समावेश गर्नु आवश्यक छ।”
नेपालले थपे, “कोषमा आबद्ध शिक्षक–कर्मचारीले पेन्सन सुविधा, जोखिमबीमा, प्रसूति खर्च, गम्भीर रोगको उपचार, दुर्घटनाबाट क्षतिपूर्ति, र मृत्यु भएमा पारिवारिक पेन्सन पाउनेछन्। यो पूर्णरूपमा आइटी बेस्ड प्रणाली हो, जसले पारदर्शिता र पहुँच दुवै सुनिश्चित गर्छ।”
कार्यक्रमका प्रमुख अतिथि तथा प्याप्सन केन्द्रीय समितिका सहअध्यक्ष गोपाल आचार्यले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन विद्यालयहरूले ढिलाइ गर्न नहुनेमा जोड दिए । उनले भने, “आजको चुनौतीपूर्ण परिस्थितिमा निजी विद्यालयले आफैंलाई सुरक्षित गर्नुपर्ने समय आएको छ। शिक्षक(कर्मचारीको सेवा सुविधामा ध्यान नदिएसम्म शिक्षा क्षेत्रमा स्थायित्व आउँदैन।”
प्रमुख अतिथि आचार्यले हालै देखिएको निजी विद्यालयलाई गुठीकृत गर्ने प्रयासको पनि खण्डन गर्दै भने, “प्याप्सन कुनै पनि हालतमा गुठीकरण स्वीकार गर्दैन। आवश्यक परे कानुनी तथा संस्थागत रूपमा प्रतिकार गर्ने तयारीमा छौं।”
कार्यक्रमका सभापति प्याप्सन काठमाडौं महानगर अध्यक्ष गगन सिंह ऐरले २०८२ सालदेखि काठमाडौं महानगरभित्रका सम्पूर्ण सदस्य विद्यालयहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने औपचारिक संकल्प सार्वजनिक गरे। ऐरले भने, “सामाजिक सुरक्षाको सन्देश पुर्याउनु मात्र होइन, हामी कार्यान्वयनमै जान्छौं।”
कार्यक्रममा प्याप्सनका वरिष्ठ उपाध्यक्ष राजन आचार्यले स्वागत मन्तव्य दिंदै सम्पूर्ण सहभागी विद्यालय सञ्चालक, प्रिन्सिपल र अतिथिहरूप्रति आभार प्रकट गरे। उनले अध्यक्ष ऐरको सक्रियताले यो कार्यक्रम सम्भव भएको उल्लेख गरे।
कार्यक्रमको मूल उद्देश्य निजी विद्यालयहरूलाई सामाजिक सुरक्षा कोषप्रति अभिमुख बनाउनु, शिक्षक–कर्मचारीको दीर्घकालीन हित सुनिश्चित गर्नु र शिक्षा क्षेत्रभित्र विद्यमान अन्योल तथा भय हटाउनु रहेको जनाएको छ।
सामाजिक सुरक्षा कोषमा आबद्धता अब विकल्प नभई आवश्यकता बनेको छ। निजी विद्यालयहरूले यो सुनिश्चित गर्नु केवल वैधानिक उत्तरदायित्व मात्र नभई संस्थागत दीर्घकालीन सुरक्षाका लागि अपरिहार्य कदम हो। प्याप्सन काठमाडौं महानगरको यो प्रयास शिक्षाक्षेत्रभित्र सामाजिक सुरक्षा विषयमा नयाँ ऊर्जा दिन सफल भएको देखिन्छ ।



















