Dhulikhel Eco Banner new

मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व संकलन

3.13K
shares

काठमाडौं, ६ जेठ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवको वैशाख महिनासम्म १४ अर्ब १४ करोड ४२ लाख २० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको थियो ।

‘गत आव २०८०/८१ को सोही अवधिमा राजस्व १५ अर्ब आठ करोड ६४ लाख २० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकामा ७६।८५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१.५१ प्रतिशत हासिल गरेका छौं’ उनले भने।

कार्यालयको तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६०.५५ प्रतिशत अर्थात् ७ अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, तरकारीको आयातबाट ५८ करोड ३३ लाख १५ हजार रुपैयाँ, यातायातका साधन र तिनका पाटपुर्जाबाट ३६ करोड ५३ लाख १५ हजाररुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, खनिज उत्पादनबाट २४ करोड १० लाख ३० हजार रुपैयाँ, कफीबाट १९ करोड ३६ लाख ९० हजार रुपैयाँ, दलहनबाट २० करोड २९ लाख ९४ हजार रुपैयाँ, राजस्व संकलन भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

यस कार्यालयबाट चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । सोही अवधिमा ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिहंदा १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।