पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु
वि.सं.२०८२ असार ९ सोमवार १०:२७
shares

काठमाडौं, ९ असार । सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमा काम सम्पन्न नगरेका पाँच निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।
आयोजना कार्यान्वयन इकाइ कार्यालय र सम्बन्धित स्थानीय तहको सिफारिसमा अनुगमन कार्यालयले कानुनी प्रक्रिया सुरु गरेको हो। यस क्रममा पहिलो पटक ती कम्पनीहरूलाई ३० दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाइएको थियो। तर, सो समयमा ती कम्पनीहरूले कुनै जवाफ नदिएपछि पुनः ७ दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण माग गरिएको छ।
अनुगमन कार्यालयका अनुसार उक्त समयमा पनि कम्पनीहरू सम्पर्कमा नआए वा उचित स्पष्टीकरण दिन नसकेमा तिनीहरूलाई कालो सूचीमा राखिनेछ। यसबाट ती कम्पनीहरू भविष्यमा सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउनेछन्।
अनुगमन कार्यालयले सार्वजनिक ठेक्का प्रणालीको पारदर्शिता र कार्यसम्पादनमा शुद्धता ल्याउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ।



















