Dhulikhel Eco Banner new
HRM

बीमितको गुनासो बढेपछि बीमा कम्पनीलाई  बीमा प्राधिकरणको चेतावनी

858
shares

काठमाडौं, १८ असार । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमितप्रति जिम्मेवार भएर कार्य गर्न निर्देशन दिएको छ। बीमितहरूबाट लगातार गुनासा आउन थालेपछि प्राधिकरणले मंगलबार परिपत्र जारी गर्दै बीमालेखअनुसार सेवा दिन, अनावश्यक ढिलाइ नगर्न र ग्राहकलाई दुःख दिने काम रोक्न आग्रह गरेको हो।

बीमा दाबी प्रक्रिया सुस्त, झन्झटिलो र असहज बनाउँदै आएको आरोप कम्पनीहरूमा लाग्दै आएको छ। गुनासामा बीमितहरूले दाबी प्रक्रिया लम्ब्याउने, समयमै सर्भेयर नखटाउने, क्षतिको मूल्याङ्कन प्रतिवेदन ढिला गर्ने, र अतिरिक्त कागजात माग गरेर हैरानी दिने जस्ता व्यवहार उल्लेख गरिएको छ।

प्राधिकरणले बीमा ऐन २०७९ को व्यवस्था स्मरण गराउँदै त्यस्ता लापरवाहीमा संलग्न बीमकलाई दुई लाखदेखि बीस लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने चेतावनी दिएको छ। यस्तै, सर्भेयरहरूलाई पनि कानुन अनुसार पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।

बीमा सेवा सुचारु, पारदर्शी र समयमै हुनुपर्नेमा जोड दिँदै प्राधिकरणले सबै कम्पनीहरूलाई कानुनी दायराभित्र रही काम गर्न पुनः सचेत गराएको छ।