Dhulikhel Eco Banner new

लगानीको उत्तम समय भए पनि समावेशी विकास चुनौतीपूर्ण छ: गभर्नर पौडेल

3.08K
shares

काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशको बैंकिङ निक्षेप ७० खर्ब रुपैयाँ नाघेपनि त्यसअनुसारको समान र समावेशी विकास हुन नसकेको बताएका छन्।

नेपाल व्यवस्थापक संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले विकास केवल रकमको उपस्थितिमा होइन, समान पहुँच र अवसरको सुनिश्चिततामा आधारित हुनुपर्नेमा जोड दिए।

उनका अनुसार, पहिले पोलिसी मात्र लिएर जानुपर्ने क्षेत्रमा अहिले २ देखि ५ करोड रुपैयाँसम्मको कर्जा प्रवाह भइरहेको छ। यसलाई उनले आर्थिक पहुँच विस्तारको सकारात्मक संकेत माने पनि, यो नै समग्र विकास हो भन्ने भ्रममा नपर्न चेतावनी दिएका छन्।

उनका अनुसार विशेषगरी कृषि क्षेत्र र साना तथा मझौला उद्योग (एसएमई) क्षेत्रमा गैरसञ्चलनशील कर्जा (एनपीएल) को अनुपात बढ्दै गएको छ । यसले भविष्यमा वित्तीय स्थायित्वमा असर पार्न सक्ने सम्भावना भएकाले समयमै सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

“हामीसँग धेरै सम्भावना र क्षमता छ, बैंकिङ प्रणाली बलियो हुँदै गएको छ,” पौडेलले भने, “तर विकास सबैका लागि समान रूपमा हुनुपर्छ। मौद्रिक नीति र भौतिक नीति दुवै समन्वयमा जानुपर्छ।”

उनले हाल बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता रहेको र विदेशी मुद्रा सञ्चिति पनि सन्तोषजनक अवस्थामा रहेको जानकारी दिँदै भने, “अहिलेको समय लगानीको लागि ‘बेस्ट अफ टाइम’ हो।”