Dhulikhel Eco Banner new

विकास बैंकहरूको नाफा १३.८१ प्रतिशतले वृद्धि

3.2K
shares

काठमाडौं, ३१ असार । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा विकास बैंकहरूले कुल ५ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा १३.८१ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको सोही अवधिमा विकास बैंकहरूले जम्मा ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए।

उक्त अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंक मुक्तिनाथ विकास बैंक रहेको छ । उक्त बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। त्यसपछि गरिमा विकास बैंकले १ अर्ब १ करोड, शाइन रेसुङ्खा डेभलपमेन्ट बैंकले ७३ करोड ८८ लाख, कामना सेवा विकास बैंकले ६६ करोड ९३ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ५६ करोड २९ लाख र महालक्ष्मी विकास बैंकले ५३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन्।

त्यस्तै, ज्योति विकास बैंकले ४३ करोड ६४ लाख, लुम्बिनी विकास बैंकले २१ करोड ७३ लाख, मितेरी डेभलपमेन्ट बैंकले ११ करोड ३५ लाख, सिन्धु विकास बैंकले ८ करोड ६ लाख, ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ७५ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन्।

यद्यपि केही विकास बैंकहरू घाटामा पनि रहेका छन्। तीमध्ये एक्सेल डेभलपमेन्ट बैंक सबैभन्दा बढी ७ करोड १३ लाख रुपैयाँ घाटामा गएको छ। नारायणी डेभलपमेन्ट बैंकले ७ करोड ५ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ६४ लाख रुपैयाँ घाटा व्यहोरेका छन्।