Dhulikhel Eco Banner new

हिमालयन बैंकको एफपीओ बुधवारदेखि बिक्रीमा

2.93K
shares

काठमाडौं, ३२ असार । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि सर्वसाधारणका लागि एफपीओ निष्कासन गरेको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो।

नेपाल धितोपत्र बोर्डबाट असार २२ गते अनुमति प्राप्त गरेसँगै बैंकले एफपीओ जारी गरेको हो। यसमा आवेदन दिन चाहने लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सक्ने व्यवस्था गरिएको छ। एफपीओ निष्कासन छिटोमा साउन ४ गते बन्द हुनेछ। तर सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि साउन १४ गतेसम्म लम्ब्याइनेछ।

बैंकको एफपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले बैंकको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

बैंकले एफपीओमार्फत प्राप्त हुने पूँजीमध्ये ८० प्रतिशत लगानीका लागि र बाँकी २० प्रतिशत सेवा विस्तार तथा स्तरोन्नतीका लागि प्रयोग गर्ने जनाएको छ। एफपीओ निष्कासनपछि बैंकको पूँजी संरचना संस्थापक र सर्वसाधारणबीच ७०:३० को अनुपातमा कायम हुनेछ। एफपीओपछि संस्थापक समूहको शेयर संख्या १५ करोड ८० लाख ७१ हजार ६३७।७२ कित्ता र सर्वसाधारणको ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता पुग्नेछ।

लगानीकर्ताहरूले डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड, कमलादीस्थित हिमालयन बैंक लिमिटेड, धितोपत्र बोर्ड, सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा तथा मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।