कर्जा सम्झौतामा पारदर्शिता नदेखिएको भन्दै एनआईसी एशिया बैंकलाई कारबाही
वि.सं.२०८२ साउन ८ बिहीवार १५:३०
shares

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक लिमिटेडमाथि पनि नियामकीय कमजोरी देखिएको भन्दै सचेत गराएको छ। बैंकले ऋणीहरूसँग लिएको ब्याजदर, कर्जा सम्झौतामा पारदर्शिताको कमी र ग्राहकलाई जानकारी नदिएको भन्दै राष्ट्र बैंकले कारबाही स्वरूप चेतावनी दिएको हो।
एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरूसँग बढी ब्याज असुल गरेको, र कर्जा सम्झौतापत्रमा कर्जाको प्रकार, लागु हुने ब्याजदर (स्थिर वा परिवर्तनशील), किस्ताको विवरण लगायत आवश्यक जानकारीहरू स्पष्ट र सरल भाषामा उल्लेख नगरेको पाइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
त्यसैगरी, ब्याजदरमा परिवर्तन हुँदा ग्राहकलाई आवश्यक सूचना नदिएको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ। ग्राहक अधिकार संरक्षणको दृष्टिकोणले यी व्यवहार गम्भीर कमजोरीका रूपमा हेरिएको हो।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पारदर्शिता, ग्राहकसँगको स्पष्ट सम्वाद र नियमन पालना अनिवार्य रहेको स्पष्ट गर्दै यस्ता कार्यप्रणाली दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ। बैंक सुपरिवेक्षण विभागमार्फत जारी सूचनामा राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई पनि यस्ता कमजोरीबाट सचेत रहन आग्रह गरेको छ।



















