कर्णाली विकास बैंक घोटालाः १११ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
वि.सं.२०८२ साउन १२ सोमवार १०:२३
shares

काठमाडौं, १२ साउन । कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई संलग्न देखाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
सीआईबीले विस्तृत अनुसन्धानपछि तयार पारेको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। उक्त प्रतिवेदनका आधारमा उच्च अदालत नेपालगञ्जमा मुद्दा दर्ता गरिनेछ। हाल सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरिरहेको बताइएको छ।
हालसम्म सीआईबीले चार जनालाई पक्राउ गरिसकेको छ। पछिल्लो पटक राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई टोखाबाट पक्राउ गरी बाँके लगेर अनुसन्धान गरिएको थियो। बस्नेतको खातामा कर्णाली विकास बैंकबाट १० लाख रुपैयाँ भित्रिएको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
यसअघि सीआईबीले बैंकका तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई समेत पक्राउ गरिसकेको छ। उनीहरूलाई पनि बाँके लगेर अनुसन्धान गरिएको हो।
सीआईबीको अनुसन्धानपछि राष्ट्र बैंकसँग सम्बन्धित कर्मचारीहरूको विवरण माग्दा तनाव सिर्जना भएको थियो। उक्त तनावपछि गभर्नर विश्व पौडेलले समेत सीआईबीका उच्च अधिकारीहरूसँग छलफल गरेका थिए।
सीआईबीका डीएसपी दान थापाको टोलीले यस प्रकरणको अनुसन्धान अगाडि बढाइरहेको छ। अब सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेपछि दोषी ठहर भएकाहरूविरुद्ध कानुनी प्रक्रिया अगाडि बढ्नेछ।



















