Dhulikhel Eco Banner new

४५ विद्यालयको सहभागितामा प्याब्सन काठमाडौंद्वारा जिल्लास्तरीय फूटसल प्रतियोगिता आयोजना

बिहान ७ बजेदेखि सुरु हुने खेलमा कडा अनुशासन, हेल्प डेस्क र रेफ्रीको समन्वय

3.6K
shares

काठमाडौं, २० साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौंको समन्वयमा यही साउन २२, २३ र २४ गते काठमाडौंको सुकेधारास्थित बागमती बोर्डिङ स्कूलमा जिल्लास्तरीय फूटसल प्रतियोगिता आयोजना हुने भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो ।

उक्त सम्मेलनमा काठमाडौं महानगर प्याब्सन अध्यक्ष गगनसिंहऎरले प्रतियोगिता भव्य, सभ्य र मर्यादितरूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए। उनले खेल अनुशासनका विषयमा कडा सन्देश दिँदै,भने “कुनै पनि विद्यालयले बाह्य खेलाडी प्रयोग गरेमा ५० हजार रुपैयाँ जरिवाना तिराउनुका साथै आगामी प्याब्सन कार्यक्रमहरूबाट बहिष्कृत गरिनेछ,” । साथै, सबै खेलाडीहरूको नम्बर र प्रमाणपत्र अनिवार्य रूपमा जाँच गरिनेछ।

काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष नवराज भट्टले जिल्लाभरिका झण्डै ६०० विद्यालयमध्ये १५स्१ बिध्यालयको अनुपातबाट ४५ विद्यालयको टिमले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा काठमाडौंका सबै स्थानीय तहबाट प्रतिनिधित्व रहेको छ। “विद्यालयस्तरमै फुटबलप्रतिको रुचि र क्षमताको विकास गर्दै राष्ट्रिय टिमसम्मको यात्रा सुनिश्चित गर्ने लक्ष्य प्रतियोगिताले लिएको छ,” भट्टले भने ।

प्रतियोगिता बिहान ७ बजेबाट सुरु हुनेछ र प्रत्येक खेल १५ मिनेटको हुनेछ। खेल संचालन रेफ्री माधव रेग्मीको समन्वयमा सुजन तामाङको एम्पायरमा हुनेछ। सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै चाबहिलस्थित मेडिकेयर अस्पताल र ओम अस्पतालले खेलमैदानमा हेल्प डेस्क सञ्चालन गर्ने भएका छन्। आयोजकले दुवै अस्पताललाई सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ।

प्याब्सन काठमाडौंको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता स्थानीय, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पुग्ने ‘खेलकुद महोत्सव’को पहिलो चरणको रूपमा समेत हेरिएको छ। आयोजकका अनुसार यस आयोजनाले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।