नेपालमा ‘मोटरिङ एकेडेमी’ स्थापना, अटोमोबाइल क्षेत्रमा नवप्रवर्तन र सुरक्षित यातायात प्रवर्द्धनमा जोड
वि.सं.२०८२ साउन २६ सोमवार १०:१३
shares

काठमाडौं, २६ साउन । नेपालमा अटोमोबाइल क्षेत्रको नवप्रवर्तन, सुरक्षित र दिगो यातायात प्रणालीको प्रवर्द्धन तथा सीप विकासका लागि ‘मोटरिङ एकेडेमी’ स्थापना गरिएको छ। काठमाडौंमा साउन १७ र १८ गते आयोजित ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ कार्यक्रममा एकेडेमीको औपचारिक घोषणा गरिएको हो।
कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) का उपाध्यक्ष ग्रेग क्राफ्ट, स्वदेशी तथा विदेशी विश्वविद्यालयका प्रतिनिधिहरू, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरू लगायतको उपस्थिति थियो।
मोटरिङ नेपाल र नेपाल अटोमोबाइल्स एसोसिएसनको सहकार्यमा स्थापना भएको एकेडेमीले एफआईए, एफआईएम ९अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ०, एफआरएफ (अन्तर्राष्ट्रिय सडक महासंघ), युआइएम (अन्तर्राष्ट्रिय पावरबोट युनियन) जस्ता विश्वप्रसिद्ध संस्थासँग सहकार्य गर्दै काम गर्नेछ।
एकेडेमीले रेसिङ, ड्राइभिङ, राइडिङ र टुरिङ सम्बन्धी सीप विकास, सुरक्षा प्रवर्द्धन तथा मोटरस्पोर्ट्सप्रतिको रुचि अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। साथै, सवारी मर्मत, सुरक्षित चलाउने प्रविधि, तथा उन्नत प्रशिक्षण कार्यक्रम सञ्चालन गरी सडक दुर्घटना न्यूनीकरण र सवारी सचेतना विस्तार गर्न उद्देश्य राखिएको छ।
रेसिङ क्षेत्रमा प्रतिभा पहिचान, सेफ्टी ट्रेनिङ, र मोटरस्पोर्ट इन्जिनियरिङसँग सम्बन्धित पाठ्यक्रमहरू सञ्चालन गरिनेछ। ड्राइभिङ तालिममा लाइसेन्स तयारी, सुरक्षित ड्राइभिङ, तथा अनुकूलित शिक्षा दिइनेछ भने राइडिङ कोर्स अन्तर्गत टेक्निकल सीप विकास, उत्तरदायी चलन तथा समुदाय निर्माणमा जोड दिइनेछ।
टुरिङ कार्यक्रमले सांस्कृतिक अन्वेषण, सामुदायिक सहभागिता र अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्नेछ।
एकेडेमी सञ्चालनका लागि ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ, जसको नेतृत्व ई। महेश अधिकारीले गर्नेछन्। समितिमा त्रिभुवन विश्वविद्यालय, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान, मोटरिङ नेपाल, एक जना विज्ञ र एक जना व्यवस्थापक सदस्य रहेका छन्।
एकेडेमी स्थापना प्रारम्भका लागि एफआईएमले पाँच हजार यूरो आर्थिक सहयोग उपलब्ध गराएको छ भने नेपाल अटोमोबाइल्स एसोसिएसनले पचास लाख रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने घोषणा गरेको छ।
विश्वका धेरै मुलुकमा अटोमोबाइल अनुसन्धान तथा प्रविधि विकासमा संस्थागत प्रयास हुँदै आएकोमा नेपालमा भने यस क्षेत्रमा अपेक्षित अनुसन्धान र विकास नभएको विश्लेषण गर्दै यो एकेडेमी स्थापना गरिएको हो।
एकेडेमीको सचिवालय मोटरिङ नेपालले सञ्चालन गर्नेछ, जुन नेपाल अटोमोबाइल्स एसोसिएसनको एसोसिएट सदस्य संस्था हो।
यस एकेडेमीमार्फत नेपालमा अटोमोबाइल क्षेत्रको दीर्घकालीन विकास, नवप्रवर्तन, तथा सुरक्षित र दिगो यातायात प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।



















