Dhulikhel Eco Banner new

नेपाली गुन्द्रुक र थाई तोमयाम एउटै मेनुमा,‘भोजन लिपि स्वाद’ को छैटौँ संस्करण भदौ ४ मा

3.93K
shares

काठमाडौं, ३० साउन । नेपाली र थाई परिकारहरूलाई एउटै मेनुमा प्रस्तुत गर्दै नेपाली स्वादको प्रवर्धनमा केन्द्रित ‘भोजन लिपि स्वाद’ कार्यक्रमको छैटौँ संस्करण भदौ ४ गते भक्तपुरको राधे–राधे स्थित रोयल थाई हस्पिटालिटी मा आयोजना हुने भएको छ।

कार्यक्रममा नेपाल र थाइल्यान्डका झन्डै एक दर्जन परिकारहरू प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन्। यस वर्षको विशेष आकर्षण नेपाली गुन्द्रुकको सुप र थाई परिकार तोमयाम सुप हुनेछ, जुन एउटै प्लेटफर्मबाट प्रस्तुत गरिँदैछ।

पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कार्यक्रम संयोजक देवीप्रसाद सापकोटाले यसपटक नेपाली परिकारसँगै थाई स्वाद मिसाएर दुवै मुलुकका स्वादप्रेमीहरूलाई एकैसाथ आकर्षित गर्न खोजिएको बताए।

रोयल थाई हस्पिटालिटीका सञ्चालक सेफ गणेश ढकालले यो पहिलोपटक नेपालमा नेपाली–थाई संयुक्त फुड सेलिब्रेसन गर्न लागिएको जानकारी गराउँदै, “गुन्द्रुकजस्ता नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण छन्,” भने।

उक्त दिन हरितालिका तीजको अवसरमा महिलाहरूका लागि दर खुवाउने विशेष कार्यक्रम पनि राखिने जानकारी सेफ ढकालले दिएका छन्।

कार्यक्रममा वरिष्ठ सेफ गोविन्द नरसिंह केसी ले नेपाली खानालाई विश्वसामु पुर्‍याउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिँदै, निरन्तर प्रयास आवश्यक भएको बताए।

भोजन लिपि स्वादका सर्जक सेफ घनश्याम कँडेल ले नेपाली परिकारहरूलाई देश–विदेशका तारे होटेलका मेनुमा समावेश गर्न सकिने गरी अभियान अघि बढाइएको प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, युवा सेफ विक्रम भिक्स, इङ्वा सुब्बा र मानबहादुर तामाङ ले नेपाली खानाको प्रवर्धनमा सक्रिय भूमिका खेल्न प्रतिबद्ध रहेको बताए।

नेपाली खाना प्रवर्धन अभियानअन्तर्गत यसअघि कार्यक्रमका पाँच संस्करण सम्पन्न भइसकेका छन्। छैटौँ संस्करण भोजन लिपि स्वाद सेफ घनश्याम कँडेल र सेफ दुर्गा खड्काको पाककलामा आधारित अनुसन्धानमूलक प्रस्तुति हो । नेपालभित्रका मौलिक परिकार र अन्तर्राष्ट्रिय स्वादबीचको संयोजनलाई देखाइनेछ।