बजार बन्द भएपछि मात्रै कारोबार संख्याले सूचकाङ्क असर गर्छः नेप्से
वि.सं.२०८२ भदौ १३ शुक्रवार १६:५८
shares

काठमाडौं, १३ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भारित औसत मूल्यको आधारमा सूचकाङ्क गणना गर्ने प्रक्रियासम्बन्धी बढ्दो चासो र आलोचनालाई सम्बोधन गर्दै स्पष्टिकरण सार्वजनिक गरेको छ।
नेप्सेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सूचकाङ्क गणना प्रणाली अन्तर्राष्ट्रिय स्तरमै मान्य अभ्यास भएको उल्लेख गर्दै हालको प्रणाली नेपाल धितोपत्र बोर्डबाट स्वीकृत “कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१” अनुरूप भएको स्पष्ट पारेको हो।
विज्ञप्तिअनुसार, नियमित कारोबार सत्रमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म भएका हरेक कारोबारको मूल्यलाई सूचीकृत शेयर संख्याबाट गुणा गरेर सूचकाङ्क गणना गरिन्छ। तर, कारोबार समाप्त भएपछि अपरान्ह ३ बजेदेखि स्वचालित प्रणालीमार्फत कारोबार मूल्य र भएका शेयर संख्याका आधारमा भारित औसत मूल्य निकालिन्छ, र सोही मूल्यलाई आधार मानी सूचकाङ्क तय गरिन्छ।
नियमित सत्रको अवधिभर सूचकाङ्कमा शेयर संख्याको असर हुँदैन, तर ३ बजेपछि कारोबार शेयर संख्याको आधारमा सूचकाङ्कमा असर देखिन्छ।
स्वचालित प्रणालीद्वारा सञ्चालन हुने यो प्रक्रिया दुई चरणमा हुने नेप्सेले जनाएको छ। पहिलो चरणमा दिउँसो २स्४५ देखि ३ः०० बजेसम्मको अवधिमा प्रत्येक कम्पनीको कारोबार मूल्य र सेयर संख्याका आधारमा अन्तिम मूल्य निर्धारण गरिन्छ। त्यसपछि दोस्रो चरणमा सो मूल्यलाई आधार बनाएर बजार परिसूचक गणना गरिन्छ।
नेप्सेले यो प्रणाली २०८१ साल चैत ७ गतेदेखि कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिएको छ। साथै, सुधारिएको यो प्रणालीले बजारको यथार्थ अवस्थालाई अझ नजिकबाट प्रतिबिम्बित गर्ने दाबी समेत गरेको छ।



















