राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको चारैतिर कर्फ्यू
वि.सं.२०८२ भदौ २३ सोमवार १४:२२
shares

काठमाडौं, २३ भदौ । राजधानी काठमाडौंमा जेनजी आन्दोलनले उग्र रूप लिएपछि प्रशासनले बानेश्वरपछि अन्य मुख्य क्षेत्रहरूमा पनि कर्फ्यू आदेश जारी गरेको छ।
नयाँ आदेश अनुसार महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर, सिंहदरबार चारैतिर र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र पनि कर्फ्यूको दायरामा परेका छन्।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कर्फ्यू अवधिभित्र कोही पनि व्यक्ति वा समूहले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउ गर्न नपाउने स्पष्ट पारेको छ। आदेश उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
यसअघि नयाँबानेश्वर क्षेत्रमा आन्दोलन उग्र बनेपछि त्यहाँ कर्फ्यू लागू गरिएको थियो। आन्दोलनको दायरा बढ्दै गएपछि थप संवेदनशील क्षेत्रहरूमा पनि निषेधाज्ञा जारी गरिएको हो।
प्रदर्शन रोक्न सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ, तर केही स्थानमा अझै आन्दोलन जारी छ। स्थिति नियन्त्रणमा लिन प्रशासन, प्रहरी र सुरक्षाकर्मी पूर्ण रूपमा तैनाथ छन्।



















