चालु आर्थिक वर्षको सुरुवातमै आयात र निर्यात दुवैमा वृद्धि
वि.सं.२०८२ असोज ७ मंगलवार १५:५२
shares

काठमाडौं, ७ असोज । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा (साउनदेखि भदौ मसान्तसम्म) नेपालले ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा देशले ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने निर्यात ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको रहेको छ।
गत वर्षको तुलनामा निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। दुई महिनामा निर्यात ८८.५७ प्रतिशतले बढेको छ। यस्तै, आयात पनि १६।२३ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ।
गत वर्ष सोही अवधिमा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको आयात र २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो।
निर्यातमा सुधार देखिए पनि व्यापार घाटा अझै बढ्दो छ। चालु वर्षको दुई महिनामा व्यापार घाटा ८।२९ प्रतिशतले वृद्धि भएर २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सो अवधिमा व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो।



















