नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?
वि.सं.२०८२ असोज १२ आइतवार १०:५०
shares

काठमाडौं, १२ असोज । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि ३७ जना कर्मचारीको माग गरेको छ। संस्थाले शाखा तथा केन्द्र तहमा काम गर्ने गरी तीन फरक पदमा योग्य तथा इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो।
कम्पनीले कनिष्ठ अधिकृत तृतीय (शाखा अधिकृत) पदमा ११ जना, बरिष्ठ सहायक (शाखा प्रबन्धक) पदमा १५ जना र सहायक प्रथम, सहायक द्वितीय, सहायक तथा कनिष्ठ सहायक प्रथक (केन्द्र प्रबन्धक) पदमा ११ जना गरी कुल ३७ जनाको माग गरेको छ।
शाखा अधिकृत पदका लागि स्नातक तह वा सो सरहको अध्ययन पूरा गरेका र बैंक तथा वित्तीय क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव भएका उम्मेदवार योग्य मानिनेछन्। यसैगरी, प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी सोही क्षेत्रमा ५ वर्षको अनुभव भएमा पनि आवेदन दिन सकिनेछ।
शाखा प्रबन्धक पदका लागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा २ वर्षको अनुभव भएको वा एसएलसी पास गरी ४ वर्षको अनुभव भएको उम्मेदवारले आवेदन दिन सक्नेछन्।
केन्द्र प्रबन्धकका लागि प्रविणता प्रमाणपत्र तह पास गरी १ वर्षको अनुभव, वा एसएलसी पास गरी ३ वर्षको अनुभव भएको हुनुपर्नेछ।
उमेर सीमा सहायक श्रेणीका लागि १८ वर्षदेखि ३५ वर्ष र अधिकृत श्रेणीका लागि २१ वर्षदेखि ४० वर्षसम्म तोकिएको छ। महिला उम्मेदवारका लागि भने अधिकतम उमेरमा ५ वर्षको छुट दिइनेछ।
इच्छुक उम्मेदवारहरूले आगामी १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पठाउनुपर्नेछ। आवेदन संस्थाको आधिकारिक इमेल ठेगानामा पठाउन सकिने जनाइएको छ।
नेष्डो समृद्ध लघुवित्त ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले क्रियाशील एक सशक्त संस्था हो, जसले मानव संसाधन विस्तारमार्फत सेवा सञ्जाल अझ प्रभावकारी बनाउन खोजेको जनाएको छ।




















