सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब नाघ्यो, वैदेशिक ऋणको हिस्सा ५४ प्रतिशत
वि.सं.२०८२ कात्तिक १३ बिहीवार १५:५४
shares

काठमाडौं, १३ कात्तिक । देशको कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा २६ खर्ब ७४ अर्ब रहेको ऋण असोज मसान्तसम्ममा ५० अर्ब ६० करोडले बढेको हो।
अहिलेको ऋण स्तर देशको कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१ प्रतिशतबराबर पुगेको छ। कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ९१ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। सो मध्ये असोज मसान्तसम्म १ खर्ब ८४ अर्ब ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको १६ दशमलव ९३ प्रतिशत हो।
ऋण प्राप्तिमध्ये आन्तरिक स्रोतबाट ८९ दशमलव २४ प्रतिशत र वैदेशिक स्रोतबाट १० दशमलव ७६ प्रतिशत रकम आएको छ।
यस आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि ४ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा असोज मसान्तसम्म १ खर्ब ९ अर्ब ८९ करोड भुक्तानी भइसकेको छ, जुन कुल बजेटको २६ दशमलव ७४ प्रतिशत हो।



















