लक्ष्मी सनराइज बैंकले कमायो ३३ करोड २३ लाख नाफा
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ११:२७
shares

काठमाडौं, २१ कात्तिक । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३३ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३८.०४ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.३७ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।
७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ६२ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा रहेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४।१३ गुणा रहेको छ ।



















