Dhulikhel Eco Banner new

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा पन्त सिफारिस

4.91K
shares

काठमाडौं, ८ मंसिर । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले दुई दिनसम्म चलेको विस्तारित बैठकमार्फत चितवन उद्योग वाणिज्य संघको आगामी अधिवेशनका लागि अध्यक्ष पदमा युवा व्यवसायी सिरीष पन्तलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

मंसिर ४ र ५ गते बसेको उक्त बैठक पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको थियो। संघले पन्तलाई व्यवसायिक समस्या नजिकबाट बुझ्ने, स्पष्ट कार्ययोजना भएको र सबै पक्षलाई समेट्न सक्ने सक्षम नेतृत्वका रूपमा प्रस्तुत गर्दै सिफारिसको निर्णय गरेको हो।

संघका अध्यक्ष नरहरी घिमिरेले पन्त केवल एक उम्मेदवार नभई परिणाम देखाउन सक्ने, दबाबमा नझुक्ने र व्यवसायी हितलाई सर्वोपरि राख्ने नेतृत्व भएको बताए। उनका अनुसार उद्योग–व्यवसाय आज संवेदनशील मोडमा भएकाले योग्य र दूरदर्शी व्यक्तित्वले मात्र संघलाई सही दिशा दिन सक्षम हुन्छ।

बैठकले संस्थाको भविष्य, पारदर्शिता, व्यवसायिक सहजता र दीर्घकालीन विकासलाई ध्यानमा राख्दै आगामी नेतृत्व अत्यन्तै जिम्मेवार, निडर र सेवामुखी हुनुपर्ने निष्कर्ष निकालेको छ।

वर्षौँदेखि व्यवसायीका आवाज उठाउँदै आएका सिरीष पन्तलाई स्वार्थ होइन, पेशागत अनुशासन र सेवाभावलाई प्राथमिकता दिने युवा नेतृत्वको प्रतिनिधि मानिएको छ। उनी सबै पक्षसँग संवाद, सहकार्य र सकारात्मक परिवर्तनको कार्ययोजना बोकेर अगाडि बढ्न सक्षम रहेको बैठकका सहभागीहरूको धारणा छ।

संघले पन्तलाई चितवनको व्यापारिक संरचना सुदृढीकरण, युवा ऊर्जा सक्रियता र आधुनिक संस्थागत रूपान्तरणको यात्रामा सबैभन्दा उपयुक्त विकल्पका रूपमा चित्रित गर्दै आगामी अधिवेशनमा एकमत समर्थनका लागि सबै उद्योगी व्यवसायीलाई आह्वान गरेको छ।