Dhulikhel Eco Banner new

अन्तरराष्ट्रिय बैंक दिवस आज विश्वभर मनाइँदै

4.16K
shares

काठमाडौं, १८ मंसिर । आज अन्तरराष्ट्रिय बैंक दिवस विश्वभर मनाइँदैछ। साथै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ। दुबै दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न मुलुकमा मनाइने अन्तरराष्ट्रिय विशेष दिनहरू हुन्।

अन्तरराष्ट्रिय बैंक दिवसको उद्देश्य बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय र उत्तरदायी बन्न प्रेरित गर्नु हो। वित्तीय क्षेत्रलाई विकास, समावेशीकरण र जलवायु सुरक्षामा अग्रसर गराउने लक्ष्य यस दिवसमार्फत जोड दिइन्छ।

यस्तै, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस भने यस वर्षदेखि मनाउन सुरु गरिएको हो। राष्ट्रसंघीय महासभाले यस वर्षको जुन महिनामा यो दिवस स्थापना गर्ने निर्णय गरेको थियो। अन्तरराष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरअनुसार नभएका एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउने तथा मुलुकबीच सहकार्य र एकता अभिवृद्धि गर्ने उद्देश्य यो दिवसको केन्द्रबिन्दु हो।

यो दिवसले अन्तरराष्ट्रिय सम्बन्धमा संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादलाई मजबुत बनाउने आवश्यकतामा जोड दिएको छ।