Dhulikhel Eco Banner new

सालपा विकास बैंकको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन

5.86K
shares

काठमाडौं, २९ मंसिर । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज, मंसिर २५ गते अन्तिम दिन रहेको छ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न मंसिर ८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि १ लाख ७२ हजार ३८८ कित्ता आईपीओ निष्कासन गरिएको हो।

यस आईपीओमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ। आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ।

पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएपछि बैंकले ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र २६ हजार ११९ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गर्नेछ। बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिने बैंकले जनाएको छ।

आईपीओ निष्कासन प्रयोजनका लागि गराइएको रेटिङमा रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सालपा विकास बैंकलाई ‘आईआरएन सिंगल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले बैंकको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था एवं तिनका तोकिएका शाखा कार्यालयहरू, साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा रहेको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।