निर्णय क्षमताहीन बन्यो मातृभूमी लघुवित्त, सञ्चालकको कलहमा झेलियो संस्था !
वि.सं.२०८२ पुस ९ बुधवार १२:३५
shares

काठमाडौं, ९ पुस । उच्च व्यवस्थापन तहका अधिकांशले राजीनामा दिएपछि मातृभूमी लघुवित्त वित्तीय संस्था बिल्लीबाठ हुँदै गएको छ । प्रमुख कार्यकारी अधिकृतसहित उच्च व्यवस्थापन तहमा अधिकांश कर्मचारी नहुँदा मातृभूमी लघुवित्त निर्णय क्षमताहीन बनेको छ ।
गत वर्षदेखि मातृभूमीको उच्च व्यवस्थापन तहकाले धमाधम राजीनामा दिन सुरु गरेका थिए । यस संस्थाको उच्च व्यवस्थापन तहमा रहेका अशोक आचार्य अहिले नेष्डोसमृद्ध लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रहेका छन् । अन्य उच्च व्यवस्थापन तहका कर्मचारीहरु पनि राजीनामा दिएर कालिका लघुवित्त लगायतका संस्थाको उच्च व्यवस्थापन तहमै कार्यरत छन् ।
पछिल्लो पटक कार्यकाल पूरा नहुँदै पदबाट राजीनामा दिएका यस संस्थाका सीईओ लक्ष्मी प्रसाद शर्मा भने कुलिङ पिरियडका कारण अहिले घरमै आराम गरिरहेका छन् । उच्च व्यवस्थापन तहका कर्मचारीहरुले धमाधम राजीना दिएपछि संस्थाले बखतबहादुर बटालालाई कामू सीईओको कामकाज गर्न तोकेको छ । कर्मचारी अभावमा अहिले संस्थामा नायव तथा सहायक प्रमुख कार्यकारी अधिकृत समेत छैनन् ।
कामू सीईओ तल एकैचोटी २ जना एजिएमहरु पवन योगी र लोकमणि रेग्मी रहेका छन् । उनीहरु पनि उचित अवसरको खोजीमै छन् । यहाँ रमाइलो कुरा भने संस्थाको व्यवस्थापन तहमा कर्मचारी अभाव देखिए पनि बोर्डमा भने दक्ष र अनुभवी व्यक्तिहरु छन् । एक सफल सीईओ महिलाका रुपमा परिचय बनाएकी बिमला योगी संस्थापक समूहबाट सञ्चालक छिन् । सीईओ हुँदा राम्रै काम गरेका इन्द्रकुमार शाह पनि अहिले सञ्चालक समितिमा छन् ।
वित्तीय क्षेत्रकाबारे राम्रो ज्ञान भएका मानिन् पद्युम्नकुमार भट्टराई पनि स्वतन्त्र सञ्चालकका रुपमा बोर्डमा छन् । राष्ट्र बैंकका पूर्व कर्मचारी समेत रहेका भट्टराई ग्रामिण विकास लघुवित्तको नेतृत्व समेत गरिसकेका व्यक्ति हुन् । अहिले सञ्चालक समिति अध्यक्ष रहेका बिनोद आचार्य पनि किष्ट बैंक, सिभिल बैंक हुँदै सिभिल र सेञ्चुरी क्यापिटल लगायतका संस्थाहरुमा काम गरेको लामो अनुभव भएका व्यक्ति हुन् ।
उसो त अराजक शेयर होल्डरका रुपमा परिचय बनाएका खडानन्द सापकोटा पनि अहिले सञ्चालक समितिमै छन् । उनले संस्थाको विरुद्धमा केही समयअघि नेपाल राष्ट्र बैंकमा उजुरी गरेका थिए । यद्यपि, समग्रमा हेर्दा संस्थाको बोर्ड राम्रो छ । व्यवस्थापनमा भने कर्मचारीकै अभाव छ ।
सीईओ रिक्त भए पनि नयाँ सीईओ कहिले ल्याउने भन्ने विषयमा संस्थामा अन्योल छ । जसका कारण संस्थाको निर्णय क्षमताहीन अवस्थामा पुगेको छ । संस्थाको सूचना अधिकारीको जिम्बेवारीमा रहेका लोकमणि रेग्मी नयाँ सीईओ नियुक्ति प्रक्रिया पुस पछि हुनसक्ने बताउछन् । यद्यपि, यस विषयमा आफू कर्मचारीमात्रै भएकाले थप बोल्न नमिल्ने उनको भनाइ छ ।
संस्थाका अध्यक्ष विनोद आचार्य सीईओ नियुक्तिका विषयमा अहिले छलफल नै नभएको बताएछन् । अहिले त्रैमास मसान्तको समय भएको र पुस मसान्त पछि सीईओ नियुक्तिको विषयमा कुरा हुने उनले बताए ।
सीईओसहितका उच्च व्यवस्थापन तहका कर्मचारीहरुले जागिर छाडेपनि काम गर्न असहज नरहेको अध्यक्ष आचार्यको दावी छ । उनको दावी अनुसार पहिलेको जस्तो अहिले सञ्चालक समितिमा समेत कुनै समस्या छैन । ‘कसैको व्यक्तिगत समस्या भए मलाई जानकारी छैन, म अध्यक्ष भएको समयदेखि अहिलेसम्म कुनै समस्या छैन’ उनले भने । आचार्य गत वैशाखदेखि सञ्चालक समितिको अध्यक्षका रुपमा रहेका छन् ।















