GBIME

विदेश जानु बाध्यता हो, नेपालमा पाएको पारिश्रमिकले गुजारा चल्नै मुश्किल छ’

2.29K
shares

काठमाडौं, २२ कात्तिक । पछिल्लो समय अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीहरु समस्या भोगिरहेको बताइरहेका छन् । सोचेजस्तो व्यवसाय नहुँदा व्यवसायीहरुलाई गारो भइरहेको अवस्थामा ब्याजदर बढेकाले थप समस्या भइरहेको व्यवसायीहरुको गुनासो छ ।

उद्योगीहरु पछिल्लो समय बढेको ब्याजदरको विरोधमा सडक मै पुगेर विरोध गरिरहेका छन् । पछिल्लो समय साना व्यवसायीहरुको अवस्थाका विषयमा विजनेश भ्वाइसमा नेपाल लघु, घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालसँग गरिएको कुराकानीको सम्पादित अंश :

अहिले साना उद्योगी तथा व्यवसायीको अवस्था कस्तो छ ?

अहिलेको अवस्थामा साना या ठुला सबै व्यवसायी संकटमै छन् । किनभने लामो समय कोभिडले थला पार्यो । त्यसपछि डेङगुले असर गर्यो सँगसँगै बजारमा भएका तरलताको अभावले गर्दा पनि समस्या भइरहेको छ । यो चाडपर्वको अवसरमा त व्यवसायीहरुलाई आर्थिक भार पर्ने नै समय हो तर पनि त्यसलाई सामना गर्दै अगाडि बढेका छौँ ।

त्यसले गर्दा अहिले व्यवसायीहरु संकटमै छन् । अब चुनाव आइरहेको अवस्थामा सबै चुनावमा होमिएका छन् । र चुनावपछि हाम्रो झिनो आशा अब आउने नयाँ सरकारले ती सबै समस्याहरुलाई समाधान गर्छकी भन्ने आश छ ।

कोभिडले आक्रान्त भएका उद्योग व्यवसाय त्यसपछि रिकभर भए ?

कोभिडको पहिलो चरण र दोस्रो चरणमा हामीलाई निकै समस्या भयो किनभने पहिलो नै थला परेको अवस्थामा बल्ल तल्ल खुट्टा टेक्न आटेको बेला फेरी दोस्रो चरणको कोभिडले घुडाँ ने टेकायो विशेष गरेर सानो पुँजीबाट व्यवसाय संचालन गर्ने साना व्यवसायीहरुलाई सबैभन्दा धेरै मार परेको अवस्था हो ।

बल्ल बल्ल सामानहरु उत्पादन गरे पनि बजारमा जानै गाह्रो गएपनि सोचेजस्तो व्यवसाय नहुने अवस्थाको सामना गर्नु परेको छ । अर्कोतर्फ कच्चा पदार्थ समयमा नआउने भएकाले हामी साना उद्योगीहरु सर्भाइभ हुन सक्ने अवस्था रहेन् ।

झन फलामको मूल्य त दोब्बर नै भयो । जसले गर्दा मान्छेहरुले फलामको काम थाती राखेको अवस्था छ । अप्रत्याशित रुपले बढेका फलामको मूल्यका कारण मानिसहरु निराश बने । बैंकहरुको ब्याज तिर्न नसकेको अवस्था र बैंकहरुले लिएको ओडी पनि रिन्यु नगर्दिने र ब्याजदर धेरै नै बढ्यो । पहिले हामीले लिने भन्दा दोब्बर भयो । यो अवस्थामा धेरै कठिन भएको थियो ।

यो अवस्थामा सुधार आउन अझै एक–डेढ महिना लाग्छ । अहिले पनि हामी दुविधामै छौँ । के कस्तो हुन्छ भनेर अझै निणर्य गर्न सकिएको छैन । धेरै व्यवसाय त बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो ।

कोभिड पछाडि घर बनाउने कामहरु रोकिए, फलामको व्यवसाय चैँ कस्तो थियो ?

फलामको माग त थियो तर अत्याधिक मूल्य बढेका कारण माग ठ्याक्कै रोकियो ।

मूल्य बढ्दा व्यसायीलाई फाइदा हुने मार्जिन बढ्ने भन्ने सुनिन्छ कस्तो लाग्छ तपाईलाई ?

हाम्रो सनो व्यवसायमा अधिकांश घरको काम हुन्छ । मंहगो भएपछि माग स्वाभाविक रुपमा कम हुने भयो । तर अन्तर्राष्ट्रिय बजारमा जति मूल्य वृद्धि भएको हुन्छ त्यसको दोब्बर बनाउने केही नगन्य मात्रामा रहेका ठुला व्यापारीका कारण समस्या आएको छ ।

अनि चुनावको बेला चन्दा दिने चलन छ । अहिले त त्यस्तो बाध्यता छैन तर पनि उनीहरु स्वतःस्फूर्त रुपमा दिन्छन् । यसबाट एक करोड दिएर दश करोड उठाउने मनसाय भएका केही व्यतिmहरुलाई मात्र फाइदा हुने हो ।

यस्ता सामाजिक उत्तरदायित्व नभएका मानिसहरुले गर्दा हामी साना तथा अरु उद्योगीहरुलाई पनि असर परेको छ । यो हिसाबले गर्दा कोभिडको रिभर हुन सकेको छैन । अब मलाई लाग्छ यो पुस मसान्तमा धेरै व्यवसायीको नाम पत्रपत्रिकामा ब्ल्याक लिस्टमा परेको देख्न पाउँछौँ ।

यसले गर्दा अहिले समग्र उद्योगी व्यवसायीहरु ठुलो मारमा परेका छन् । अब पनि हिजोको जस्तो नौ महिने आठ महिने सरकार बन्यो भने त उद्योगी व्यवसायीहरुको अवस्था दर्दनाक हुन सक्ने सम्भावना रहेको छ ।

यो चुनावको समयमा व्यवसायीहरुलाई नेताहरुले चन्दा मागेर कतिको हैरानी बनाउँछन् ?

पहिलेको जस्तो कठोर अवस्था छैन अहिले । तर प्राय जसो सबै उम्मेदवारहरु चिने जानेका भएर मनखुसी दिनु आफ्नै ठाँउमा छ । तर हिजोको जस्तो चन्दा दिएन भने हामी पनि काम लाग्छाँै पख्लास भन्ने अवस्था भने छैन । तर पनि अप्रत्यक्ष रुपमा चन्दा माग्ने वा हामीलाई पनि सम्झिनुहोस भन्ने कुराहरु भने आउँछ । धम्क्याउन भने छाडे । चन्दा पारदर्शिता हुनुपर्छ भन्ने कुरा हो त्यो अलि कम छ ।

स्वार्थ जोडिएको ठाँउमा चन्दा गएको हुन्छ । स्वार्थ नजोडिएको ठाँउमा त स्वतः स्र्फूत रुपमा गर्ने सहयोग त आफ्नो ठाँउमा छ । विगतको जस्तो डर लाग्दो अवस्था भने छैन ।

अब आउने प्रदेशसभाको चुनाव र प्रतिनिधिसभाको चुनावले निजी क्षेत्रलाई कतिको असर पार्छ के लाग्छ तपाईलाई ?

अब तीन तहको सरकार तीन तहको आफ्ना आफ्नै नीति नियमले गर्दा पन हामी अप्ठ्यारोमा प¥यौँ किनभने हामी उद्योगीहरुले देशव्यापी रुपमा नै काम गर्नुपर्ने हुन्छ । अनि एक ठाँउबाट अर्को ठाँउमा जाँदा नीति नियममा फरक भएपछि समस्या त भोग्नु परिनै हाल्छ । यसका साथै करको दरमा समेत भिन्नता आउने गरेको छ ।

अनि जबाफदेहिताको कुराहरुले हामीलई असर पुर्‍याएको हुन्छ । यद्यपी विगतमा भन्दा अहिले केही सुधार भएको देखिन्छ । अबको चुनावमा केही परिवर्तन आउला भन्ने छ । किनभने अहिले बाध्यताले मान्छेले जुन पार्टीको हो त्यही पार्टीलाई नै मात्र भोट दिने अवस्था सुध्रिएको छ । त्यसको प्रभाव स्थानीय चुनावमा पनि देखिएको छ । अब प्रदेश र संघको चुनावमा पनि देखिन्छ यसले गर्दा अब केही सुधार होला भन्ने छ ।

उद्योगी व्यवसायीहरुले पैसा सिरानीमुनी लुकाएर राखेको छन् जसले गर्दा बैंकहरुमा लगानी योग्य रकम छैन भन्ने सुनिन्छ यो समस्या के भएर आयो तपाईलाई के लाग्छ ?

वास्तवमा यो के हो भने सरकारले, राष्ट्र बैंकले आर्थिक क्षेत्रमा बनाउने विभिन्न नियमहरुले गर्दा पनि हो । पैसा जम्मा गर्दा पनि स्रोतहरु खुलाउनु पर्ने भएकोले पनि यस्तो भएको हुन सक्छ । यदि सरकारले स्रोतहरु खुलाउन नपर्ने व्यवस्था गरिदियो भने पनि केही हदसम्म पैसा बाहिर आउँछ जस्तो लाग्छ मलाई ।

लगानीमैत्री वातावरण पनि नहुनु सरकारको स्थिरता नभएकाले गर्दा यस्तो समस्या भएको हुन सक्छ । हामी सबैलाई थाहा छ कतिपय पैसा धेरै मेहनत र कठोर संघर्षले कमाएको छ भने बाँकी केही अरु रातारात गरेर कमाएको पनि छ । अब त्यस्तो पैसालाई के स्रोत देखाउने भन्ने कुराले पनि हुन सक्छ ।

अनि मलाई लाग्छ बाहिर पनि गएको छैन त्यो पैसा देशमै छ । त्यो पैसा सिरानीमुनी नै नभए कहाँ जान्छ त ?

बाहिर लैजान पनि त्यति सजिलो अवस्था छैन । यसमा पनि सबै जानकार हुदाँ हुँदै पनि कोही बोल्न सकिरहेको छैन । किनकि त्यो घेराभित्र थोरै मुछिएको कारणले गर्दा पैसा लुकीरहेको छ । अब सरकारले अलिकति लचकता देखाउनै पर्छ । त्यो देखाएन भने सधैँ इमर्पोटलाई बन्द गर्दिने बाह्य परनिर्भरता बढेको बढेकै छ ।

आफ्नो उत्पादन छैन । देशको वार्षिक बजेट बराबरको व्यापार घाटा भईरहेको छ । हामीसँग प्रशस्त आत्मनिर्भर हुन सक्ने गरी स्रोतहरु छन् । तर ती सबै नारामै मात्रै सिमित छन् । यद्यपी स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने विदेशी आयातलाई प्रतिस्थापन गर्ने भन्ने कुराहरु छ । तर सबै कागजमै सिमित छन् ।

यसलाई मध्यनजर गर्दै सरकारले अलिकति लचकता त देखाउनै पर्छ । किनभने समग्र देशको अर्थतन्त्र चलायमान बनाउँनका लागि लुकेको पैसा बाहिर ल्याउनका लागि भएपनि यो गर्नैपर्छ । जस्तो भारतले पुराना नोटहरु नचल्ने बनायो यस्तै केही बिकल्प अपनाइयो भने बैंकमा भएको तरलताको समस्या सहज हुन सक्छ ।

कस्ता उद्योगी, कस्ता व्यसायी र कस्ता पृष्ठभुमी भएका मान्छेहरुले पैसा लुकाएका छन् तपाईलाई के लाग्छ ?

मलाई के लाग्छ भने देश र जनताप्रति उत्तरदायी नभएकाहरु, पैसालाई सर्वोपरी ठान्नेहरु सजिलैसँग पैसा कमाउनेहरु विशेष गरेर साना तथा मझौला भन्दा पनि ठुला व्यवसाय गर्ने सरकारसँग प्रत्यक्ष रुपमा साझेदार गर्ने व्यवसायीहरुसँग यस्तो पैसा छ । त्यो निकाल्नका लागि उनीहरकै इच्छाशक्ति नभई हुन्छ जस्तो लाग्दैन मलाई ।

कोभिडपछि निजी क्षेत्रका लागि समस्या बैंकको ब्याजदर नै हो वा अरु नै केही छ ?

विशेष गरेर साना तथा मझौला व्यवसायीहरुलाई ऋण लिनै समस्या छ । सामान्य अवस्थामा त बैंकसँग पहुँच पुग्दैन । साना व्यवसायीको त्यही माथी अहिले त बैंकमा पैसा नै छैन । अर्को कुरा जसले बैंकिङ कारोबार गरेका छन् तिनीहरुलाई ओडी रिन्यु गर्ने बेलामा रिन्यु नहुने उनीहरुको टार्गेट लिड गर्न सकेन भने पैसा फर्काउनुपर्ने व्यवस्थाले सबैभन्दा ठुलो समस्यामा साना व्यवसायी परेका छन् ।

अनि बैंकबाट ऋण नपाएपछि मिटरब्याजमा ऋण लिएर व्यवसाय गर्दा लागत धेरै बढ्छ । अनि हामी आफैले पनि स्वदेशमा उत्पादन गरेका सामानहरु प्रयोग गर्न सकेका छैनौँ । यसको मुख्य कारण भनेकै विदेशी सामानभन्दा पनि स्वदेशी सामानहरु मंहगो हुनु हो ।

गुणस्तरले पनि विश्वसनियता घटेको छ । अरु देशमाभन्दा पनि राम्रा सामानहरु हाम्रै देशमा उत्पादन हुन्छन् । तर हामीले चाहिदो संख्यामा उत्पादन गर्न सकेका छैनौँ । यो अवस्था आउनुको कारण भनेको लगानी गर्ने पैसा नहुँनु हो ।

तपाई आफै पनि साना उद्योगको महासंघमा हुनुहुन्छ । तपाईले व्यवसायीलाई सरकारले यस्ता सुविधा दिएका छन् है भनेर बुझाउनु भएको छ त ?

अवश्य गर्छौँ । हामी देशव्यापी रुपमा गछौँ अहिले आएका नीती नियमहरु पनि हाम्रै दबाबले गर्दा आएका हुन् । हामी व्यवसायीले गरेका निर्देशन अनुसार नै सरकारले मौद्रिक नीति होस् या अरु नीति ल्याएको हुन्छ ।

तर बैंक तथा वित्तीय संस्थाहरुले सरकारले गर भनेको काम पनि सहजतापूर्वक गरिरहेको छैन् । अनि १०० जना साना उद्योगीहरुसँग गरेको कारोबार र एक जना ठुला उद्योगीसँग गरेको कारोबार बराबर हुन्छ । सानाले गर्ने सबै कामहरु ठूला उद्योगीहरुले गरेको झन्झट पनि नहुने भएकाले पनि साना व्यवसायी मर्कामा परेका छन् ।

हामीले हाम्रो स्रोतले भ्याएसम्म सचेतनाका कामहरु गरिरहेका छौँ । बैंकसँग नै सहकार्य गरेका छौँ । तर साना र ठुला व्यवसायीको प्रक्रिया एउटै भएकाले साना व्यवसायीलाई गाह्रो भएको छ । साना व्यवसायीहरु शिक्षित पनि हुँदैनन् । उनीहरुलाई बैंकको ढोकासम्म जान नै समस्या हुन्छ । त्यो झन्झट लिनुभन्दा बरु सहकारी वा व्यक्तिगत ऋण लिऔँ भन्ने मनसायका कारण पनि पछि परेको अवस्था छ ।

सरकारले छुट्याएका सेवा सुविधाहरु साना उद्योगी वा व्यवसायीहरुले पाएका छैनन् । फाइलहरु वर्षौसम्म फर्किएको अवस्था छ । मलाई लागैन १५ प्रतिशतले पनि त्यो सेवा सुविधा उपभोग गरेका छन् भनेर ।

तपाई दावीका साथ भन्न सक्नुहुन्छ, चिनजानका मान्छेले मात्र सहुलियतपूर्ण ऋण उपभोग गरेका छन् भनेर ?

एकदमै हो । अहिलेको वास्तविकता नै यही हो । आर्थिक वर्षको अन्तिमतिर केही बैंकहरुले आफूले चिनेजानेका मान्छेहरुलाई ल्याएर आफैंले सबै काम गरिदिएर केहीले मात्र ऋण उपभोग गरेका छन् । नत्र अरुले गरेका छैनन् ।

सबै ठाँउबाट त्यस्तै कुराहरु आइरहेका छन् । हामीले ठाउँठाउँबाट जानकारी लिन्छौँ । जसले नियमित रुपमा काम गरेका छन् । जसको चिनजान रहेको छ तिनीहरुले मात्र ऋण पाएका छन् । चिनजान नभई त केही हुदैन । यो भन्न मलाई केही हिचकिचहावट छैन ।

मैले सबैतिर यहीँ भन्ने गरेको छुु । मैले थोरबहुत मान्छे चिनेको हुदाँ त ऋण पाउन सक्ने अवस्था छैन । त्यसैले सरकारले छुट्याएका जुन सेवा सविधाहरु छन् ती सुविधाहरु साना व्यवसायीहरुले पनि सहज तरिकाले बुझ्ने गरेर पाउनुपर्छ । किनभने देशको अर्थतन्त्रको मेरुदण्ड रहेको निजी क्षेत्र त्यसमा पनि ८० प्रतिशत लघु घरेलु साना उद्योग रहेका छन् ।

यसले ठुलो संख्यामा रोजगारी दिएको छ । अहिले आयातलाई प्रतिस्थापन गर्न सक्ने भनेकै निजी क्षेत्र हो । हामीले यही उत्पादित कच्चा पदार्थलाई आधार लिएर वस्तु उत्पादन गरेका छौँ । हामीले उत्पादन गरेका वस्तुहरु राम्रा छन् । कतिपय कुरा ब्रान्डिङमा पनि कमजोरी छ । गुणस्तर मापनमा समेत कमजोरी छ ।

नयाँ प्रविधि भित्र्याउन नसक्दाखेरी सोचेजति वस्तु उत्पादन गर्न सकिरहेका छैनौँ । जसले लागत बढेको छ त्यसले गर्दा अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनौँ । हामीले उत्पादन गरेका वस्तुहरु स्वदेशमै प्रयोग गर्ने संस्कारको विकास भैसकेको छैन् । पानीमा संसारकै राम्रो पानी पाउने देश नेपाल हो । तर मन्त्रालयतिर गयौँ भने हामीले नै विदेशी ट्याग लागेका पानी पिउँन पाउँछौँ । सरकारी स्तरमा त स्वदेशी वस्तुलाई प्राथमिकतामा राख्न सकेको छैन । त्यसैले स्वदेशी वस्तु प्रयोग गर्ने बानीको विकास भयो भने हामी पनि अगाडि बढ्न सक्छौँ ।

के कमजारीले हामीले हाम्रो स्वदेशी वस्तुहरुलाई प्रर्वद्धन गर्न सकेनौँ ?

मुख्य कुरा त के हो भने साना उद्योगीहरु धेरै भन्दा धेरै यो क्षेत्रमा लागेका छन् । तिनीहरुलाई सहज वातावरणबाट वित्तीय पहुँचसम्म काम गर्ने मेशिन ल्याउन छुट दिने हो की बैंकको ब्याजदरमा छुट दिने होकी त्यो गर्नुपर्यो । अहिले त उद्योग दर्ता गर्नै समस्या छ । दर्ता भईहाल्यो भने पनि नबिकरणमा समस्या छ ।

औद्योगिक क्षेत्रहरु प्रशस्त उपलब्ध गराउनुपर्यो । कच्चा पदार्थभन्दा सामान नै सस्तोमा पाउने भएकाले हाम्रो वस्तु बिक्रीमा समस्या भएको हो । अनि हामीले मागअनुसार वस्तु उत्पादन गर्न नसकेको कुरा पनि हामीले स्वीकार गर्नुपर्छ । सरकारले प्रविधिमा विकासमा ध्यान दिन जरुरी छ ।

हामीले उत्पादन गरेका वस्तु बजारीकरण गर्न सहयोग गरिदिनुपर्यो । हामी कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने ठाउँ छ । त्यसलाई प्रोत्साहन गर्नुपर्यो । नारामा मात्र कराउने तर कार्यान्वयनमा नआउने हो भने यसको कुनै औचित्य छैन । यसका लागि सरकारबाटै सुरुवात हुनु पर्ने हुन्छ । जनता पनि वास्तवमा सचेत हुनु पर्यो अरुको भनाइमा लाग्नेभन्दा पनि के सही हो भन्ने पहिचान गर्न सक्ने हुनुपर्यो ।

यसमा मुख्य दोषी भनेको सरकार हो । सरकारमा हुने मान्छेले नीति ल्याउनु मात्र होइन त्यसले कतिको सहजता ल्याउछ भन्ने बुझेर काम गर्नुपर्यो ।

ब्याजदरको बारेमा तपाईको के अपेक्षा छ ?

ब्याजदरको विषयमा भन्नुपर्दा सबै बैंकहरुको मात्र गल्ती होइन । हामी उद्योगी व्यवसायीहरुको पनि गल्ती छ । उद्योग संचालन गर्नेले उद्योग नै गनुपर्यो बैंक चलाउने होइन । जसले जे मन लाग्यो गरिदिने गर्नुभएन् । उद्योगी र बैंकर छुट्टिनुपर्यो ।

साना र ठुला उद्योग पनि छुट्याउनुपर्यो । सानालाई र ठुलालाई गर्ने व्यवहार पनि भिन्नै हुनुपर्यो । जस्तो वयस्क मान्छले बोक्ने भारी एउटा सानो बच्चालाई दियो भने त बोक्नै सक्दैन नी उसले सक्ने मात्र दिनुपर्यो । यसरी अगाडि बढ्नुपर्यो । साना उद्योग क्षेत्रमा बाह्य लगानी आवश्यक छैन ।

दक्ष जनशक्ति किन हामीले उत्पादन गर्न सक्दैनौँ, हामीमा त्यो क्षमता नै छैन ?

नेपालमा विशेष गरेर दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्र भनेको सीटीईभीटीई हो । हामीले बारम्बार भन्दै आएका छौँ उद्योगीको आवश्यकता अनुसार दक्ष जनशक्रि उत्पादन भएनन् भनेर । कोठाभित्रको तालिम र सिपले मात्रै भएनन् । अब कार्यस्थलमा गएर वास्तविकतासँग लडेर अगाडि बढ्न सिकाउनुपर्यो ।

अहिले केही मात्रामा त्यो खालको तालिमले निरन्तरता पाएको छ । पुरानै प्रविधि सिकाएर अब हुँदैन अहिलेको आवश्यकता अनुसार नयाँ प्रविधी सिकाउनु पर्यो । अनि हाम्रा दाजु भाइ दिदी बहिनीहरुमा पनि के समस्या छ भने नेपालमै सामान्य काम गर्न पनि नमान्ने तर विदेशमा गएर भने जस्तोसुकै अप्ठ्यारो काम गर्न पनि तयार हुने ।

जसले गर्दा नेपाली उद्योगीहरुलाई श्रमिक पाउन पनि समस्या भइरहेको छ । अहिले सरकारले पनि निजी क्षेत्रसँग सहकार्य गरेर पाठ्यक्रम बनाउने केही क्रियाकलापहरु गर्दा हामीसँग सुझावहरु लिने गरेको छ । कोभिडको बेलामा विदेश जानेहरु पनि धेरै फर्किएका छन् ।

विदेशभन्दा स्वदेश नै ठीक भन्ने बुझेका छन् कतिपयले गाँउमै व्यवसाय संचालन समेत गर्न थालिसकेका छन् । अब सरकारले पनि व्यवसाय गर्नेहरुलाई प्रोत्साहन गर्नुपर्छ । सरकारले विदेशी आयातलाई प्रतिस्थापन गर्न खाजेको छ, नेपाली वस्तुहरुको प्रचारप्रसार गरिरहेको छ । त्यस्ता व्यवसायीलाई विशेष सुविधासँगै प्रोत्साहनको वातावरण खडा गर्नुपर्छ । कामको उच्च सम्मान गर्नुपर्छ । अनि हामी साना व्यवसायीहरुले कामदार त राख्छौँ तर उनीहरुले चाहेको पारिश्रमिक दिन सकेका छैनौँ ।

उनीहरुलाई हामीले दिएको पारिश्रमिबाट गुजारा नचल्ने भएपछि विदेशिन बाध्य छन् । त्यसलाई ध्यानमा राखेर नीति नियमको कार्यान्वयन गर्न सकियो भने नेपाली दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ ।

अन्तमा निजी क्षेत्रका समस्या समाधानका लागि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रमा अग्रसर रहेका नेताहरुले के गर्नुपर्छ ?

सरकारले स्पष्ट नीति ल्याउनु पर्यो, ल्याएका नीतिहरुलाई समयमै कार्यान्वयन गर्नुपर्यो, अनि राष्ट्र बैंकले सबैभन्दा पहिले बैंकको ब्याजदर घटाउँनुपर्यो । लघु तथा साना उद्योगीलाई सहज पहुँच दिनु पर्यो ।

उद्योगी व्यवसायीले पनि जे कामका लागि भनेर ऋण लिइन्छ त्यही काम खर्च गर्नुपर्यो । हामीले गर्न सक्ने कुरामा सरकारको मात्र मुख ताकेर हुँदैनन् । आफैले गर्न सक्ने काम आफैले गर्नुपर्छ । हामीले उत्पादन गरेका वस्तुहरु भरपर्दो गर्नुपर्छ ।

गुणस्तरलाई ध्यानमा राखेर उत्पादन गर्नु पर्ने अवस्था देखिन्छ । हामी सबैले देश र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्छ जसले जहाँबाट जे भुमिका निभाउनुपर्ने त्यसलाई इमान्दारीताका साथ पुरा गर्नु पर्ने देखिन्छ ।