बैंकको आतंक रोक्न राष्ट्र बैंकको हस्तक्षेप जरुरी छ : महासंघ
वि.सं.२०७९ कात्तिक २७ आइतवार १८:४०
shares
फाइल तस्वीर
काठमाडौं, २७ कात्तिक । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरु अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताएका हुन् ।
ब्याजदर एक अंकमा हुनु पर्ने बताएको महासंघले बैंकहरुले लिलामबिक्रीको आतंक मच्चाएको आरोप समेत लगाएको छ । करोडौं रकम पर्ने धितोमा रहेको घरजग्गा पचाउने नियतले बैंकहरुले ३५ दिने सूचना निकाल्ने गरेको महासंघको आरोप छ । संकटको बेलामा सामान्य मानवियता समेत बैंकहरुले नहेर्ने भन्दै महासंघले ३५ दिने सूचनालाई बढाएर ६ महिना बनाउनु पर्ने बताएको छ ।
‘संकटको अवस्थामा सामान्य मानवियता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौ मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोशिस गरेको पाइएको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धितोलिलाम गर्ने सूचना ३५ दिन होइन कम्तिमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न एक वर्षको अवधि दिनु पर्छ ।’
बैंकहरुले ओडी लगायतका कर्जा ठप्पै बनाउदा धेरै व्यवसायीहरु व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ । ब्याजदरमाथि हस्तक्षेप मूख्य एजेण्डा बनाएको महासंघको विज्ञप्तिमा भनिएको छ, ‘ उद्योगी व्यवसायीहरुलाई ऋण चुक्ताका लागि अनावश्यक दवाव दिने काम रोक्न, सहज रुपमा ऋण उपलब्ध गराउन, धितोलिलामको समयावधि बढाएर ६ महिना पुर्याउन र ब्याजदरलाई समेत एकल अंकमा झार्ने गरी आवश्यक नीति तर्जुमा गर्नुपर्छ ।’
हेर्नुस् विज्ञप्तिको पूर्ण पाठ :
मिति : २०७९।०७।२६
प्रेस विज्ञप्ति
बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर आकासिएको अवस्था छ । उद्योगी व्यवसायीहरुले बैंकबाट सहज रुपमा ऋण पाउन नसक्ने र ऋण लिएका व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले सिर्जना गरेको ब्याजदर आतंकप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
कतिपय बैंक तथा सहकारी संस्थाहरुले समेत ऋण चुक्ता गर्न अनावश्यक दवाव दिने गरेको समेत पाइएको छ । पछिल्लो समय बैंक तथा सहकारी संस्थाहरुले धितो लिलामीलाई निकै जोडबल गरेको देखिन्छ । संकटको अवस्थामा सामान्य मानवियता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौ मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोशिस गरेको पाइएको छ । आर्थिक मन्दीसँगै उधारो उठ्न छाडेको छ । यसले आम्दानी घटेको छ । अर्कोतर्फ ऋणको ब्याज दर लगभग दोब्बर भइसकेको छ । आर्थिक मन्दीका कारण एकातिर कुनै आर्थिक कारोबार छैन भने उच्च ब्याज दरले ऋण तिर्ने क्षमतामा कमी आइरहेको छ । धितोलिलाम गर्ने सूचना ३५ दिन होइन कम्तिमा पनि ६ महिना हुनुपर्छ भन्ने हाम्रो माग छ ।
अहिले बैंकहरुले ओभरड्राफ्ट (ओडी) लगायतका कर्जा ठप्प पारेका छन् । लामो समयको कोभिड महामारी र त्यस पश्चातको बाह्य तथा वित्तीय असन्तुलनका कारण निरन्तर प्रभावित रहँदै आएको औद्योगिक एवं व्यवसायिक क्षेत्रको ब्याजदर बृद्धिका कारण पूँजिगत लागत बढेको छ भने व्यवसायीहरुको मनोवल घट्दै गएको छ । हाल बजारमा देखा परेको तरलता अभाव, मूल्य बृद्धि तथा वित्तीय संकटले समग्र आर्थिक प्रणालीलाई नै संकुचित दिशा तर्फ उन्मुख रहेको छ । उत्पादनमुलक औद्योगिक क्षेत्रहरु बैंक तथा वित्तीय क्षेत्रले गरेको ब्याज वृद्धिका कारण बन्द गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ भने उत्पादित वस्तु तथा सेवामा भएको मूल्य बृद्धिले आम सर्वसाधारण उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ । व्यवसायीहरुलाई समस्या पर्नु भनेको वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रलाई नै समस्या पर्नु हो । यस्तो संकटको अवस्थामा सरकार र नेपाल राष्ट्र बैंक भने चुपचाप बसेको छ । अहिले देखिएका विद्यमान समस्याहरु समाधानका लागि हामी सरकार र केन्द्रीय बैंकको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ ।
समग्र अर्थतन्त्रको हितका लागि पनि अहिले अस्वभाविक रुपमा बढिरहेको ब्याजदरलाई नियन्त्रण जरुरी छ । यहीँ तरिकाले ब्याजदर वृद्धि हुने हो भने उपभोक्ताहरु महंगीले निकै अप्ठरो अवस्थामा पुग्ने पक्का छ । ब्याजदरलाई अस्वभाविक रुपमा माथि जानबाट रोक्न र अर्थतन्त्रलाई सहज बनाउन पनि अब राष्ट्र बैंकले हस्तक्षेपकारी नीति लिनु पर्ने हाम्रो सुझाव छ । उद्योगी व्यवसायीहरुलाई ऋण चुक्ताका लागि अनावश्यक दवाव दिने काम रोक्न, सहज रुपमा ऋण उपलब्ध गराउन, धितोलिलामको समयावधि बढाएर ६ महिना पुर्याउन र ब्याजदरलाई समेत एकल अंकमा झार्ने गरी आवश्यक नीति तर्जुमा गर्न यस नेपाल राष्ट्रिय व्यवसायी महासंघ सबै सरोकारवाला निकायसँग जोडदार माग गर्दछ ।
………………………
कुमार कार्की
अध्यक्ष
नेपाल राष्ट्रिय व्यवसायी महासंघ



















