Dhulikhel Eco Banner new

बढ्दै विद्युतीय गाडीको माग, चार महिनामै करिब ३ अर्बको आयात

4.68K
shares

काठमाडौं, १४ मंसिर । पछिल्लो समय नेपालमा विद्युतीय सवारीको आयात बढ्दै गएको देखिएको छ । सरकारले इन्धनबाट चल्ने सवारीमा प्रतिबन्ध लगाएको अवस्थामा विद्युतीय सवारीको आयत भने ह्वातै बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चार महिनामा मात्रै १ हजारभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । साउनदेखि कात्तिक मसान्तसम्म १ हजार १८ वटा विद्युतीय सवारी नेपाल भित्रिएको विभागको तथ्यांक छ । यो संख्या गत वर्षको सोही अवधिकोभन्दा ३४५ ले बढी हो । गत वर्षको सुरुको ४ महिनामा नेपालले ६७३ वटा विद्युतीय गाडी आयात गरेको छ ।

चालू आर्थिक वर्षको चार महिनामा विद्युतीय सवारी आयातमा करिब ३ अर्ब रुपैयाँ विदेशीएको छ । साउनदेखि कात्तिकम सान्तसम्म १ हजार १८ वटा सवारी आयात गर्नका लागि २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ खर्च भएको विभागको तथ्यांकले देखाएको छ । विद्युतीय सवारी आयातबाट राज्यले चार महिनाको अवधिमा ८५ करोड ६२ लाख ८८ हजार राजस्व संकलन गरेको छ ।

नेपालले गत आर्थिक वर्षको सोही अवधिमा भने ६७३ वटा सवारी आयतमा २ अर्ब ५२ लाख रुपैयाँ खर्च गरेको थियो । चालू आर्थिक वर्षको ४ महिनामा नेपालले १०० किलोवाटका जीप, भ्यान र कार मात्रै ९९० वटा आयान गरेको छ । यसका लागि मात्रै २ अर्ब ७३ करोड बढी रकम विदशीएको छ । त्यस्तै २०० किलोवाटसम्मका २५ वटा र २०० देखि ३०० किलोवाटसम्मका ३ वटा विद्युतीय गाडी आयात गरेको छ ।