Dhulikhel Eco Banner new

पुस महिनामा ६ अर्बको लगानी, अधिकांश साना उद्योग

6.31K
shares

काठमाडौं, १ माघ । चालू आर्थिक वर्षको पुस महिनामा ६ अर्ब रुपैयाँको प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक अनुसार पुस महिनामा १५ वटा उद्योगका लागि ६ अर्ब १२ करोेढ ९९ लाख २६ हजार रुपैयाँको लगानी प्रतिवद्धता प्राप्त भएको हो ।

विभागको तथ्यांक अनुसार पुस महिनामा दर्ता भएका १५ वटा उद्योगमध्ये अधिकांश साना तथा मझौला उद्योग रहेका छन् । पुस महिनामा ८ वटा साना, ६ वटा मध्येम र २ वटा ठूला उद्योग दर्ता भएका छन् । पुस महिनामा विभागमा दर्ता भएका ठूला उद्योगमा १ अर्ब ७६ करोड २९ लाख ८३ हजार रुपैयाँको संखुवासभा पावर डेभलेपमेन्ट प्रालि (सुपर सभाखोला ए जलविद्युत आयोजना) र १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ लगानीमा सुपर घलेम्दी हाइड्रो पावर प्रालि रहेका छन् ।

पुस महिनामा ८ वटा उत्पादन क्षेत्रका उद्योग दर्ता भएको छन भने ३ वटा सेवा क्षेत्र र २ वटा जलविद्युत उद्योग रहेका छन् । त्यस्तै पर्यटन र एग्रो एण्ड फरेष्ट्री क्षेत्रमा एक एक वटा उद्योग दर्ता भएका छन् । पुस महिनामा वैदेशिक लगानीका ४ वटा उद्योग दर्ता भएका छन् । जसमा ८ करोड रुपैयाँको भैरवी इन्टरनेशनल कार्गो प्रालि, २ करोड लगानीमा जिन्दुओ ज्वेलरी इण्डष्ट्रि प्रालि, ५ करोड रुपैयाँको होस्ट इन्टरनेशनल होटल प्रालि र ५ करोड रुपैयाँ लगानीमा झुफेङ्ग यान्ये इन्जिनियरिङ प्रालि उद्योग दर्ता गरिएको छ ।

त्यसैगरी, १३ करोड रुपैयाँ लगानीमा डिभाइन इण्डष्ट्रिज प्रालि, १५÷१५ करोड रुपैयाँमा ट्रान्स सिल्क टरमिनल्स र गुरु शिवटेक्सटायल इण्डष्ट्रिज प्रालि, २५ करोड रुपैयाँमा मध्यपश्चित फिड इण्डष्ट्रिज प्रालि, ३ करोड १५ लाख रुपैयाँमा बाराही एग्रेगेट बालुवा प्रशोधन उद्योग, १७ करोड लगानीमा विजार्ड फ्रेग्रेन्स इण्डष्ट्रिज, ४९ करोड २४ लाख रुपैयाँको सोना पोलिमर्स इण्डष्ट्रिज प्रालि, ४९ करोड १३ लाख रुपैयाँ लगानीमा जयहरी एग्रो प्रालि र ४३ करोड रुपैयाँ लगानीमा प्रेष्टिज भिनायल इण्डष्ट्रिज उद्योग दर्ता भएका छन् ।