बैंकिङ विज्ञ भट्टराई भन्छन – ‘आयातमुखी अर्थतन्त्र हुँदासम्म समस्या आइरहन्छ’
वि.सं.२०७९ माघ १९ बिहीवार ११:५१
shares

काठमाडौं, १९ माघ । बैंकिङ विज्ञ अनलराज भट्टराइले आयातमुखी अर्थतन्त्र हुँदासम्म नेपालमा समस्या आइरहने बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले बुधबार काठमाडौंमा आयोजना गरेको गर्थन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराइले आयातमुखी अर्थतन्त्र रहेको मुलुकमा जुनसुकै समयमा पनि समस्या आउने बताएका हुन् ।
‘आयातमुखी अर्थतन्त्र भएको मुलुकमा जुनसुकै समयमा पनि अर्थतन्त्रमा समस्या देखिन सक्छ, यसबाट जोगिनका लागि उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ,’ उनले भने । ऋण लिएर अनुत्पादक क्षेत्रमा लगाउदा समस्या आएको उनको भनाइ थियो ।
आम नागरिकले पनि अर्थतन्त्रलाई सहयोग पुग्ने गरेर काम गर्न उनले आग्रह गरे । नेपालको भुक्तानीमा पनि समस्या रहेको उनको तर्क थियो । नेपालमा असार मसान्तमा मात्रै भुक्तानी गर्ने परिपाटी रहेको छ । जसले गर्दा सोही समयमा मात्रै काम भएको जस्तो देखिएको भट्टराइको भनाइ थियो । काम सधैभरि नै हुने गरेको छ तर असार मसान्तमा मात्रै काम भएको जसतो देखिनु सिस्टमकै समस्या रहेको उनले बताए ।



















