सुन किन्नमै खर्च भयाे नेपालको ३६ अर्ब रुपैयाँ
वि.सं.२०७९ चैत १३ सोमवार १८:११
shares

काठमाडौं, १३ चैत । चालु आर्थिक वर्षको ८ महिनामा करिब ३६ अर्बको सुन आयात भएको छ । ८ महिनाको अवधिमा नेपालले ३५ अर्ब ८६ करोड रुपैयाँको कच्चा सुन तथा सुनका गहना आयात गरेको हो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षका सुनको आयातमा गिरावट आएको भए पनि नेपालबाट बारिहने रकम भने बढेको छ । गत वर्षको ८ महिनाको अवधिमो चालु आर्थिक वर्षको सोही अवनधिमा सुनको आयातमा ४१ प्रतिशतले कमी आएको छ । तर यो अवधिमा नेपालबाट गत वर्षको तुलनामा ९.७ प्रतिशत बढी रकम बाहिरीएको छ ।
गत आर्थिक वर्षको ८ महिनाको अवधिमा ३२ अर्ब ६८ करोड रुपैयाँको सुन आयात भएको थियो । पछिल्लो सयम सरकाले सुनका आयातमा कोटा घटाएको छ । सरकारले एक वर्षसम्म सुनको कोटा १० केजी तोकेको छ । सुनको कोटा सिजनमा निकै कम हुने व्यवसायीहरुको भनाइ छ । सिजनमा दैनिक रुपमा ३५ केजीसम्म सुन आवश्यक पर्ने भए पनि १० केजी मात्रै आयात हुँदा सुनको निकै अभाव हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महसंघका अध्यक्ष मनिकरत्न शाक्यको भनाइ छ ।
दैनिक २० किलोको कोटा हुँदा पनि गत वर्ष ४२ अर्ब ७० करोडको सुन आयात भएको थियो । तर यो चालु आर्थिक वर्षमा १० किलो कोटा निर्धारण गर्दा पनि सुनको मूल्य बढेकाले सुन आयातमा विदेशी रकम बढी खर्च भएको हो ।
चालू आर्थिक वर्षको ८ महिनामा २ हजार ६३६ किलो सुन आयात भएको छ । जबकि, गत आवको सोही अवधिमा ४ हजार ४६४ किलो सुन आयात भएको थियो । नेपालबाट निर्यात हुने सुनका गहनामा भने भारी गिरावट आएको छ । गत वर्षको साउनदेखि फागुनसम्ममा ३६ करोड ९१ लाखका गरगहना निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ११ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।
पछिल्लो समय नयाँ सुनको गहना बनाउने भन्दा पनि पुराना गहनासँग साट्नेहरु मात्रै आइरहेको व्यवसायीहरुको भनाइ छ । आफूहरुले सरकारलाई सिजनमा कोटा बढाउन र अफ सिजनमा कोटा घटाउन आग्रह गर्दै आएको अध्यक्ष शाक्यले बताए । सरकारले व्यवसायीका कुरालाई खासै ध्यान नदिएको उनको भनाइ छ । बजार सुस्त हुनुमा आर्थिक मन्दी मुख्य कारण भएको उनले बताए । अहिले दैनिक रुपमा ७ किलोसम्म सुनको माग रहेको व्यवसायीहरु बताउँछन् । सिजनमा भने अहिलेको कोटा अपुग हुने उनीहरुको भनाइ छ ।



















