मोबाइलको आयातमा भारी गिरावट, बजारमा अवैध मोबाइलको राज
वि.सं.२०७९ चैत १४ मंगलवार १०:४३
shares

काठमाडौं, १४ चैत । पछिल्लो समय आर्थिक मन्दीकाले गर्दा सबै क्षेत्रलाई असर गरिरहेको छ । व्यापार व्यवसाय नभएका कारण समग्र अर्थतन्त्रमा नै यसको असर देखिएको छ । राज्यले संकलन गर्ने राजश्वमा यसको प्रत्यक्ष असर परेको छ । नेपालमा विदेशबाट आयात हुने सामानमध्ये मोबाइल फोन पनि एक हो ।
मोबाइलको प्रयोग बढ्दै जाँदा आयात पनि बढ्दै जानु स्वभाविक नै हो । कोभिडको समयमा अनलाइन कक्षा सञ्चालन भए पनि मोबाइल फोनको प्रयोग ह्वातै बढेको थियो । तर आर्थिक मन्दीका कारण मोबाइलको आयातमा भने आधाले गिरावट आएको सरकारी तथ्यांक छ । सरकारी तथ्यांकमा मोबाइलको आयत घटेको देखिए पनि बजारमा मोबाइलको अभाव भने छैन । एक तर्फ राजश्व कम हुँदै जाने र अर्को तर्फ मोबाइल सहजै रुपमा उपलब्ध भइरहेको अवस्थामा मोबाइल फोन अवैध रपमा आइरहेको प्रष्ट हुन्छ । अवैध रुपमा आएका मोबाइलले बजार लिदा राज्य र वैध रुपमा सामान ल्याएर व्यवसाय गर्नेहरुलाई मार परेको मोबाइल वितरक संघका अध्यक्ष दिनेश च्युल्यादोको भनाइ छ ।
नेपालमा मासिक रुपमा ३ लाखभन्दा धेरै मोबाइल सेट आयात हुने गरेको भए पनि पछिल्लो समय यसमा आधाले कमी आएको देखिएको छ । गत आर्थिक वर्षको ४० अर्ब ८९ करोड ३६ लाख रुपैयाँ बराबरको ५७ लाख ६३ हजार सेट आयात भएको थियो । तर सरकारले विदेशी मुद्राको संञ्चितिमा कमी आएको भन्दै मोबाइलको आयातमा प्रतिबन्ध लगायो । तर पनि बजारमा मोबाइलको उपस्थिति भने कम भएन् । केबल कानूनी रुपमा आउने मोबाइलको मात्रै कमी भयो । जसले राज्यको राजश्वमा कमी आएको च्युल्यादोको भनाइ छ । ‘बजारमा मोबाइलको अभाव छैन । तर वैध रुपमा आयात हुने फोनमा भने कमी आएको हो । यसले राजश्वमा असर गरेको छ,’ उनले भने । ‘सरकारी तथ्यांकमा मोबाइलको आयात कम हुँदा पनि बजारमा मोबाइलको कुनै आभाव छैन् । आयात घटेको अवस्थामा पनि बजारमा सहज रुपमा मोबाइल सेटहरु पाइरहनु भनेको बजारमा अवैध मोबाइलको विगविगी रहेको कुरा प्रष्ट हुन्छ,’ उलने भने ।
सरकारले वैशाख १३ देखि असारसम्ममा ६०० अमेरिकी डलरमाथिको मोबाइल आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । साउनमा त्यसमा संशोधन थप कडाइ गरेर ३०० डलरमाथिको मोबाइल आयातमा प्रतिबन्ध लगाइयो । पछिल्लो पटक सरकारले आयात खुला गरेको भए पनि माग बढ्न नसकेको चुल्यादोको भनाइ छ । गैर कानुनी रुपमा आएका मोबाइलहरुले बजार लिएको अवस्थामा आयातकर्ताहरुलाई बढी प्रभाव पर्ने उनको भनाइ छ । ‘यो अवस्थाले हामीलाई त त्यति फरक पर्दैन आयातकर्तालाई भने भने निकै असर गर्ने गर्छ,’ उनले भने ।
सरकारले मंसिरदेखि भने आयात प्रतिबन्ध खुला गरेको छ । तर, आयात प्रतिबन्धले भन्दा पनि माग बढ्न नसक्दा व्यापार धेरै खस्किएको व्यवसायी बताउँछन् । चालू आर्थिक वर्षको सुरुवाती चरणमा मासिक ३ लाख वटासम्म मोबाइल सेट आएको भएको भए पनि अहिले भने १ लाखभन्दा कम मात्रै मोबाइल सेट आयात भइरहेको विभागको तथ्यांक छ ।
आर्थिक मन्दीले केही प्रभाव पारेको भए पनि बढी वैध रुपमा आउने मोबाइलमा कमी आएको चुल्यादोको भनाइ छ । बजारमा मोबाइलको अभाव छैन । बिक्री हुनै गारो भइरहेको अवस्था छ । तर सरकारको तथ्यांकले घटेको देखाउँछ । यसबाट के प्रष्ट हुन्छ भने गैर कानूनी रुपमा आएका मोबाइलले बजार लिएको अवस्था छ,’ उनले भने । यो रोक्नका लागि एमडीएमएस प्रणाली लागु गर्नु पर्ने उनको भनाइ छ ।
मोबाइलको आयात कम भएसँगै यसको प्रभाव राजश्वमा परेको छ । मोबाइल आयातबाट सरकारले आर्थिक वर्षको पहिलो महिना साउनमा ४८ करोड राजश्व संकलन गरेको थियो भने फागुन महिनामा आउँदा यो ३४ करोडमा झरेका छ । सरकारले प्रतिबन्ध हटाए पनि आयातमा सुधार आउन सकेको छैन । साउनमा २ अर्ब ५७ करोड बढीको मोबाइल आयात भएको थियो भने फागुन महिनामा १ अर्ब ८३ करोड बढीको आयात भएको विभागको तथ्यांक छ ।
त्यस्तै भदौ महिनामा आयत निकै बढेको देखिएको छ । भदौमा ३ अर्ब ६० करोडको मोबाइल आयात भयो । जसबाट राज्यले ६७ करोड ३१ लाख बढी राजश्व संकलन ग¥यो । त्यस्तै, असोजमा २ अर्ब ३५ करोडको मोबाइल आयात हुँदा ४३ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
कात्तिक महिनादेखि भने मोबाइलको आयत घट्यो । जसको प्रभाव राजश्वमा पनि देखियो ।
कात्तिकमा १ अर्ब ५७ करोड बढीको मोबाइल आयात भयो । जसबाट २९ करोड ४२ लाख राजश्व संकलन भयो । त्यस्तै मंसिरमा १ अर्ब ९ करोड मोबाइल आयात हुँदा २० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । पुसमा १ अर्ब ८१ करोडको मोबाइल आयात हुँदा ३३ करोड ६२ लाख राजश्व संकलन गरेको सरकारले माघमा १ अर्ब ७५ करोड ८४ लाख ६१ हजार रुपैयाँको मोबाइल आयातबाट ३२ करोड ८३ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको देखिन्छ ।



















