Dhulikhel Eco Banner new

चार विकास बैंक र २ फाइनान्स कपनीलाई नगद जरिवाना

4.71K
shares

काठमाडौं, २९ चैत । नेपाल राष्ट्र बैंकले ६ बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमामा कायम नगरेको भन्दै जरिवाना गरेको हो ।

जरिवाना तिर्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकलाई जरिवाना गरिएको हो । त्यस्तै नेपाल फाइनान्स र जानकी फाइनान्सले पनि जरिवाना तिर्नु पर्ने भएको हो ।

केन्द्री बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० लाख ५९ हजार ३ सय ३३ रुपैयाँ र दोस्रो त्रैमासमा २२ लाख ७७ हजार ३ सय २ रुपैयाँ जरीवाना तिराएको हो । त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा १७ लाख ९३ हजार ६ सय ४७ र दोस्रो त्रैमासमा ३ लाख ३५ हजार ४ सय ७४ रुपैयाँ जरिवाना तिरेको छ ।

नारायणी डेभलपमेन्ट बैंकले पहिलो त्रैमासिकमा ५ लाख ८ हजार २ सय र दोस्रो त्रैमसमा ३ लाख ४ हजार २ सय २९ रुपैयाँ जरिवाना तिरेको छ । सिन्धु विकास बैंकले भने चालु आवको पहिलो त्रैमासमा मात्रै ८ लाख ८२ हजार एक सय २१ रुपैयाँ जरिवाना तिरेको छ ।

त्यसैगरी चालुआवको पहिलो त्रैमासमा नेपाल फाइनान्सले एक लाख ४९ हजार ३ सय ६३ र जानकी फाइनान्सले ८० हजार ९ सय ८५ रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई बुझाएका छन । राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि हुन नहुने व्यवस्था गरेको छ । ती विकास बैंक र फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा ९० प्रतिशतको सीमा नाघेपछि आर्थिक जरिवाना गरेको केन्द्रीय बैंकले जनाएको छ ।