नौ महिनामा सरकारले तिर्यो १ खर्ब बढीको साँवा र ब्याज
वि.सं.२०८० वैशाख ५ मंगलवार १०:५३
shares

काठमाडौं, ५ वैशाख । सरकारले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ऋणको साँवा ब्याज तिर्नका लागि विनियोजन गरेको भन्दा १३ प्रतिशत बढी रकम खर्च गरेको छ । सरकारले चालू आर्थिक वर्षमा आन्तरिक ऋणको साँवा र ब्याज तिर्नका लागि ९० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर ९ महिनाको अवधिमा सरकारले १ खर्ब २ अर्ब रुपैयाँ आन्तरिक ऋणको साँवा र ब्याज तिर्नमा खर्च गरेको हो ।
सरकारले बाह्य ऋणको साँवा र ब्याज गरि २१ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ । चालू आर्थिक वर्षमा सरकारले बाह्य ऋणको साँवा फिर्ता र ब्याज तिर्न ४२ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजन गरिएको रकमको ५० प्रतिशत रकम खर्च गरिसकेको छ । समग्रमा सरकारले ९ महिनाको अवधिमा ऋणको साँवा र ब्याज तिर्नका लागि १ खर्ब २३ अर्ब रुपैयाँ खर्च गरेको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार सरकारले संकलन गरेको राजस्वको १९.३७ प्रतिशत रकम ऋणको साँवा र ब्याज तिर्नमा खर्च गरेको छ । सरकारले चालू आर्थिक वर्षको हालसम्म ६ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
९ महिनाको अवधिमा सरकाले १ खर्ब ५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको छ । त्यस्तै ५४ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक ऋण लिएको छ । चालू आर्थिक वर्षको ९ महिनामा थपिएको ऋण समेत जोड्दा चालू आर्थिक वर्षको चैत मसान्तसम्म सरकारको ऋण २१ खर्ब ७३ अर्ब नाघेको छ ।



















