Dhulikhel Eco Banner new

जलविद्युतमा लगानी बढाउन महासंघले सहजीकरण गर्छ : अध्यक्ष ढकाल

4.43K
shares

काठमाडौं, ६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रकोतर्फबाट महासंघले सहयोग गर्न तयार रहेको बताएका छन् । राजधानीमा मंगलबारदेखि सुरुभएको ऊर्जा सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गदैै अध्यक्ष ढकालले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएकोले यसलाई अवसरको रुपमा लिँदै नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह समेत गरेका हुन् ।

‘नेपालमा जलविद्युतलगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ । सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने नै छ । हामीसँग नव उदीयमान विश्वका ठूला अर्थतन्त्रहरु छिमेक मै छन् । त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस् । निजी क्षेत्रको तर्फबाट हामी तपाईलाई सहजीकरण र सहयोग गर्न तयार छौँ,’ उनले भने ।

नेपालले गत वर्ष भारतमा विद्युत निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको बताउँदै बंगलादेशको बजारकालागि पनि सरकारीतहबाट सकारात्मक कुराकानी भइरहेको अध्यक्ष ढकालको भनाइ थियो । उनले नेपाल सरकार तथा अन्य सरोकारवालाहरुलाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह समेत गरे ।