Dhulikhel Eco Banner new

नौ महिनामा ४२ करोडबढीको सिमेन्ट निर्यात

4.51K
shares

काठमाडौं, १० वैशाख । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालबाट ४२ करोड रुपैयाँभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । चैत मसान्तसम्मको अवधिमा नेपालबाट ४२ करोड ३१ लाख ८९ हजार रुपैया बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको हो ।

चैत मसान्तसम्म २३ करोड ७२ लाखबराबरको क्लिंकर र १८ करोड ५९ लाखबराबरको सिमेन्ट निर्यात भएको छ । चैत मसान्तसम्म २ लाख ७२ हजार ३ सय २८ टन क्लिंकर र १ लाख ९२ हजार १ टन सिमेन्ट निर्यात भएको छ ।

चैत महिनामा मात्रै नेपालबाट १२ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको सरकारी तथ्यांकले देखाएको छ । अहिले नेपाबाट तानसेन र अर्घाखाँची ब्राण्डको सिमेन्ट भारतमा निर्यात हुँदै आएको छ । तथ्यांक अनुसार पछिल्लो समय नेपालबाट फागुन महिनामा १३ करोड ८५ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो । त्यस्तै माघ महिनामा १६ करोड ७० लाखको सिमेन्ट निकासी भएको थियो ।

पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट गत वर्षको असारदेखि भारत निर्यात हुन थालेको हो । यसअघि अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्ड र आरएमसी ब्रान्डकै सिमेन्ट भारत निर्यात हुँदै आएको थियो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट निर्यातमा प्रोत्साहन दिने नीति लिएको थियो । जसले गर्दा व्यवसायीहरु सिमेन्ट निर्यातका लागि उत्साहीत बनेका थिए ।